माेरङ, माघ २९ :

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले  वर्तमान सरकार ढालेर अर्को जनमुखी  सरकार निर्माण हुने अवस्था नरहेको बताएका छन् ।विराटनगरमा सोमबार बिहान सञ्चारकर्मीसँग कुरा गर्दै खनालले यस्तो बताएका हुन् ।

सम्मानित नेता खनालले  वर्तमान संविधानको सिंहावलोकन गर्नुपर्ने समय आएको उल्लेख गर्दै सम्झौताका आधारमा ल्याइएको वर्तमान संविधानमा भएकाले आवश्यकताअनुसार संशोधन गर्न सकिने बताए । ‘वामपन्थीहरु अब टाउको गनेर होइन उनले भने, नीति तथा कार्यक्रमको आधारमा मिल्नुपर्छ, देश र जनताका पक्षमा देखिने गरी काम गर्नुपर्छ ।’
उनले अन्य पार्टीका भन्दा एकीकृत समाजवादीको नीति तथा कार्यक्रम राम्रो रहेको समेत दाबी गरे ।

नेता खनालले दिगो विकाससहित समृद्धिको दिशामा मुलुकलाई लैजानका लागि आधुनिक कृषि प्रणाली र उद्योग क्षेत्रलाई प्राथमिकता दिनुपर्ने खाँचो औँल्याए ।