
प्रतिनिधिसभाको मंगलबारको बैठक सुरु भएको केही समयपछि सभामुखको आसनबाट उपसभामुख इन्दिरा रानामगरले चलाइरहेकी थिइन् । उपसभामुख रानाले शून्य समयको अन्त्य भएको र विशेष समयको सुरुवात भएको भन्दै सांसद रामकृष्ण यादवलाई समय दिइन् । तर, शून्य समयमा बोल्न कांग्रेस सांसद रामहरि खतिवडाले समय मागे ।
उपसभामुख रानाले विशेष समय सुरु भइसक्यो मिनेटमै भन्नु ल भन्दै खतिवडालाई शून्य समयको समय दिइन् । खतिवडाले जब रास्वपा सभापति रवि लामिछानेलाई लक्षित गर्दै चर्को भाषण गर्न थाले त्यसप्रति विपक्षीको ध्यान केन्द्रित भयो । खतिवडाले नाम नलिई भन्न थाले- ‘नेपाल प्रहरीलाई दुरुपयोग गरियो भन्ने कुरा सुन्नमा आयो । तर, हामीले को गृहमन्त्री हुँदा देखेका थियौँ । एक नम्बरलाई नबनाएर १५ नम्बरलाई प्रोमोसन गरेको । आईजीलाई समितिमा बोलाएर निर्दोष छ भनेर कानेखुसी गरेको पनि सुन्यौँ, ‘कसले सदुपयोग गर्यो ? कसले दुरुपयोग गर्यो ? हामीले हेर्नुपर्ने बेला भएको छ । प्रहरीमा हाइजम्प, लङजम्प गरियो । दुई ब्याच पछाडिकोलाई प्रोमोसन गरियो । त्यति मात्र होइन, प्रहरीमा ५२ दिन नपुगी सरुवा गरेर आफ्नो मान्छे लगियो, त्यसको जवाफ चाहियो ।’
खतिवडा भने, ‘सहकारीको रकम अपचलन गर्ने मुद्दामा बहस गर्ने वकिललाई हातपात गर्दै सडकमा घिस्याउने कामको सुरुवात भयो । अदालत मुद्दा चलिरहँदा बाहिर जिन्दावाद र मुर्दावाद भन्ने प्रचलन सुरु भयो । यो कसले गरेको सभामुख महोदय ?’ सदनमा एउटा कुरा, बाहिर अर्को कुरा गर्ने, सरकारमा हुँदा एउटा कुरा गर्ने र सरकारमा नहुँदा अर्को कुरा गर्ने प्रवृत्ति अन्त्य गरिनुपर्ने उनले बताए ।
आफ्नो दलका नेताप्रति लक्षित खतिवडाको चर्को भाषणकैबीच विपक्षी दल रास्वपाका सांसद गणेश पराजुलीले नियमापत्ति जनाउँदै विरोध गरे । रास्वपाका सांसद पराजुलीले कांग्रेसका सांसद खतिवडाले बोलेको कुरा संसदको रेकर्डबाट नहटाएसम्म आफू उभिरहने बताएका थिए ।
पछि मात्र थाहापाएको माओवादीले पनि विरोध जनाउन थाल्यो । अनि माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे उठेर नियमापत्ति जनाए । यतिन्जेल माओवादीका सांसदहरु उठेर विरोध जनाइसकेका थिए ।
तर, प्रमुख सचेतक पाण्डेको ठीक अगाडि बसेका जनार्दन शर्मा भने केहीबेर अलमलिए । उनी पछाडि हेर्दै आफ्ना सांसदहरुले विरोध जनाइरहेको देखेर मन-लागि नलागि विस्तारै उठे । अनि माओवादी र रास्वपाले गरेको विरोधमा सामेल भए ।
उपसभामुखले पटक-पटक आसनग्रहण गर्न भन्दा पनि नमानेपछि सभामुखको आसनमा सभामुख देवराज घिमिरे आफैँ आए । उनले विपक्षीहरूलाई सम्झाउन खोजे । तर, प्रतिपक्षी सांसदहरूले मानेनन् । उनीहरूले आफूहरूलाई पनि बोल्न दिन समय मागे । विपक्षी सांसदहरूलाई समय दिँदा नियमविपरीत हुने सभामुखले बताए । त्यसपछि बैठक १५ मिनेटका लागि बैठक स्थगित भयो ।