काठमाडौं, फागुन १ :

आन्दोलनरत स्वर्गद्वारी गुठीपीडितहरू सरकारसँग वार्तामा बस्नुअघि छलफलमा जुटेका छन् । सरकारले उनीहरुलाई वार्तामा बोलाएपछि कसरी प्रस्तुत हुने लगायतकाबारेमा आन्तरिक छलफलमा छन्।

छलफल गरेर वार्ता समिति गठन गर्ने संघर्ष समितिका प्रविन दहित थारुले जानकारी दिए।वार्तामा कोको जाने भनेर तय हुनेछ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मंगलबार स्वर्गद्वारी गुठीपीडित मोही किसान सङ्घर्ष समितिलाई वार्ताका लागि आह्वान गरेको थियो। 

गुठीपीडितसँग छलफल गर्न सरकारले तीन सदस्यीय वार्ता समिति समेत गठन गरिसकेको छ।सरकारले गठन गरेको वार्ता समितिमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव मदन कोइराला, उपसचिव महेन्द्रप्रसाद साँखी र गुठी संस्थानका कानुन अधिकृत जनक पोखरेल रहेका छन्।

स्वर्गद्वारी गुठीपीडितहरू माघ २० गतेदेखि काठमाडौँको माइतीघरमा आन्दोलनरत रहेका छन्।