काठमाडौं, फागुन १ :

 

कैफियत प्रतिवेदन माग
उच्च अदालत तुलसीपुरले सुप्रिम सहकारी ठगी मुद्दामा छविलाल जोशीलाई थुनामा पठाउने जिल्ला अदालत रुपन्देहीको आदेशको कैफियत प्रतिवेदन माग गरेको छ । न्यायाधीश राजेश्वर तिवारीको इजलासले बुधबार सुनुवाइ गर्दै कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको हो । आफूलाई थुनामा पठाउने जिल्ला अदालतको आदेश बदर गर्न माग गर्दै जोशीका तर्फबाट छोरा रोचकले बुधबार उच्च अदालतमा निवेदन दिएका थिए ।

निवेदनमा जिल्लाको आदेश बदर गरी थुनाबाहिरै राखेर मुद्दाको पूर्पक्ष गर्न माग गरिएको थियो । सूर्यदर्शन र स्वर्णलक्ष्मी सहकारीको मुद्दामा धरौटी बुझाएर रिहा भएका जोशी सुप्रिम सहकारीको मुद्दामा भने पुर्पक्षका लागि जेल परे ।

दोषीलाई कारबाही गर्नू
गृहमन्त्री रमेश लेखकले प्रहरीमाथि हातपात गर्नेलाई कारबाहीको दायरामा ल्याउन प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई निर्देशन दिएका छन् ।

प्रहरी कर्मचारीमाथि भइरहेको कुटपिट र दुर्व्यवहार घटनामा छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लेखकले शान्ति सुरक्षा कायम गर्ने क्रममा प्रहरीमाथि भइरहेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै प्रहरी महानिरीक्षक कुँवरलाईलाई छानबिन गरी दोषीलाई तत्काल कारबाहीको दायरामा ल्याउन निर्देशन दिए ।

स्वस्थानी साङ्गे
माघ शुक्ल पूर्णिमाका दिन आज एकमहिने स्वस्थानी व्रत साङ्गे गरिएको छ । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दु धर्मावलम्बीले घर-घरमा सुरु गरेको एकमहिने स्वस्थानी व्रत आज विधिपूर्वक समापन गरिएको हो । पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको व्रत सुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका देशभरका भक्तजनले आज व्रत समापन गरेका हुन् ।

त्यसैदिनदेखि सुरु गरिएको स्कन्द पुराणअन्तर्गतको केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई स्वस्थानी कथाका रुपमा भन्ने र सुन्ने काम पनि आजैदेखि अन्त्य गरिन्छ ।

जलमग्न सरकारी भवन
काठमाडौंको बबरमहलमा मेलम्ची खानेपानीको मुख्य पाइप फुटेको छ ।पाइप फुटेर पानी पसेपछि बबरमहलस्थित विशेष अदालतलगायतका सरकारी भवन जलमग्न बनेका छन् ।

काठमाडौंको बबरमहलस्थित सडकमा रहेको पानीको पाइप फुटेपछि त्यहाँबाट बगेको पानी सरकारी भवन परिसरसम्म पुगेको हो । पानी जमेर त्यहाँ रहेका सवारी साधनहरू डुबेका छन् । आउजाउमा पनि केही समय समस्या हुँदा मुख्य सडकमा चल्ने यातायात प्रभावितसमेत भए ।

सामान्य बढ्यो नेप्से
अघिल्लो दिन ६ दशमलव ५४ अंकले बढेको नेप्से आज एक दशमलव ८६ अंकले बढेर २६ सय ८५ दशमलव ७३ अंकमा पुगेको छ । सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव २५ अंकले बढेर चार सय ५० दशमलव ४० अंकमा पुगेको छ ।

नेप्सेमा बुधबार ३०७ कम्पनीका ८२ हजार आठ सय ५० पटकको कारोबारमा एक करोड ५५ लाख २० हजार पाँच सय ५९ कित्ता सेयर खरिद-बिक्री भए ।

जसमा कुल कारोबार रकम आठ अर्ब ७१ करोड ७८ लाख ४७ हजार ६२ रुपैयाँ पुग्यो । नेप्सेमा आज १३ समूहको सेयर कारोबार भएकामा चार समूहको सूचक बढे भने बाँकीका सूचक घटे ।