काठमाडौं, फागुन २ :

काठमाडौंमा आगामी सातादेखि सुरू हुने चार देश सम्मिलित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताका लागि नेपाली टोलीको घोषणा गरिएको छ ।  नेपालमा पहिलोपटक चारदेशीय महिला फुटबल प्रतियोगिता हुन लागेको हो ।

प्रशिक्षक राजेन्द्र तामाङले बिहीबार  एन्जिला तुम्बापो सुब्बाको कप्तानीमा २३ सदस्यीय टोली सार्वजनिक गरेका हुन् । टोलीमा दुई नयाँ खेलाडी छन् ।

टोलीमा कप्तान एन्जिलासँगै अन्जना राना मगर र उषा नाथ गोलरक्षकका रूपमा छन् । त्यस्तै डिफेन्डरहरूमा अमृता जैसी, गिता राना, बिमला बिक, पुजा राना, निशा थोकर, समिक्षा घिमिरे, बिमला चौधरी र मनमाया दमाइ छन् ।

मिडिफिल्डरमा अनिता बस्नेत, रेनुका नगरकोटी, प्रीति राई, सरु लिम्बु, सबिता रानामगर, रेनुका हमाल र सुष्मा तामाङ छन् । फरवार्डमा साबित्रा भण्डारी, रेखा पौडेल, रश्मी कुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी छन् ।डिफेन्डर मनमाया दमाइ र मिडफिल्डर सुष्मा तामाङ पहिलोपटक राष्ट्रिय टोलीमा परेका हुन् ।

आगामी फागुन ५ देखि एन्फाको आयोजनामा दशरथ रंगशालामा नेपाल, म्यानमार, लेबनान र कीर्गिस्तान सम्मिलित महिला फुटबल प्रतियोगिता हुँदै छ ।