काठमाडौं, फागुन ४ :

घोषणादेखि नै चर्चा र प्रतीक्षामा रहेको नेपाली चलचित्र ‘बलिदान’को छायांकन चार महिनामा पूरा भएको छ ।

निर्देशक सन्तोष सेनले कठिन परिस्थितिसँग जुध्दै उत्कृष्ट चलचित्र निर्माणको लक्ष्य पूरा गर्ने क्रमको छायांकन चरण पार गरेको जानकारी दिएका छन् । मोरङको हसिना सिमसारस्थित बुढासुब्बा मैदानमा शुक्रबार लिइएको अन्तिम दृश्यमा अभिनेता समीर भट्ट र अभिनेत्री ऋचा शर्माको अभिनय थियो ।

निर्देशक सेनका अनुसार, ‘बलिदान’ लाई ‘महान् चलचित्र’ बनाउने यात्रामा कुनै सम्झौता गरिएको छैन । सेनले भने, ‘कथाको सिर्जना होस् वा कलाकार, प्राविधिक र प्रविधिको छनोट- हामीले सोचेभन्दा राम्रो गर्न सफल भयौँ । शारीरिक, मानसिक र भावनात्मक रूपमा धेरै संघर्ष गर्‍यौँ, तर चलचित्रलाई उत्कृष्ट बनाउन कुनै कसर बाँकी राखेनौँ ।’

निर्माण टोलीले खुबै मिहिनेत गरेको पनि उनले जनाएका छन् । ‘चार महिनासम्म रातदिन रगत-पसिना बगाएर मिहिनेत गर्‍यौँ । यस चलचित्रका लागि सम्पूर्ण टिमले जुन बलिदानी दिएको छ, त्यसलाई शब्दमा मात्र धन्यवाद दिएर पुग्दैन । म विश्वस्त छु, उनीहरूको काम बलिदानमार्फत अमर रहनेछ ।’ यो चलचित्र देशका लागि केही गर्ने जोस र हुटहुटीले बनेको सेनको भनाइ छ । उनले दर्शकको सदाशयताले थप प्रेरणा दिएको बताए । उनले थपे, ‘आगामी दिनमा पनि दर्शकको साथ पाइरहने विश्वास छ । कथाको आवश्यक बलिदानी दिएर अन्तिम दृश्य खिच्यौँ र छायांकनको चरणलाई बिट मार्‍यौँ ।’

अब चलचित्रको सम्पादन छिटै सुरु हुने र पोस्ट प्रोडक्सनका क्रममा पनि कुनै सम्झौता नगर्ने निर्देशक सेनले बताए । चलचित्रको प्रदर्शन मितिबारे भने निर्देशकले आफ्नो पुरानै कथन दोहोर्‍याउँदै भने, ‘अब छिट्टै टिजर रिलिज हुनेछ । जसमा रिलिज मिति घोषणा गरिनेछ ।’ यस चलचित्रको रिलिज मितिलाई लिएर दर्शकमा उच्च अपेक्षा छ ।

नेपाली चलचित्र उद्योगमा ऐतिहासिक र देशभक्तिपूर्ण कथावस्तुका कारण ‘बलिदान’ प्रति दर्शकको विशेष चासो रहँदै आएको छ । फिल्ममा उत्कृष्ट कलाकारको सहभागिता, प्रविधिको उच्चतम् प्रयोग र कथाको गहिरो प्रभावशीलताले यसलाई बहुप्रतिक्षित चलचित्र बनाएको छ । सम्भवतः निरन्तर रूपमा सबैभन्दा धेरै समय छायांकन भएको र सबैभन्दा महँगो लगानीको चलचित्रको रूपमा पनि बलिदानलाई हेर्न सकिन्छ । यस चलचित्रमा पहिलो चलचित्र ‘१२ गाउँ’बाट चर्चा पाएका अभिनेता समीर भट्टको प्रमुख भूमिका र साथमा सौगात मल्ल, अर्पण थापा, दिव्य देव, ऋचा शर्मालगायत कलाकारको अभिनय रहनुले पनि थप विशेष बनाएको छ ।

‘बलिदान’ को कथा नेपालको सार्वभौम भूमिमा भइरहेको शोषण, अन्याय र समाजका तथाकथित नाइकेहरूको विरुद्धको संघर्षमा आधारित रहेको बताइएको छ । चलचित्रमा दक्षिण भारतका चर्चित एक्सन निर्देशक स्टन्डर सामको नेतृत्वमा करिब ३० जनाको टोलीले अत्याधुनिक प्रविधिको प्रयोग गर्दै एक्सन दृश्य खिचेका थिए । यस चलचित्रको क्लाइमेक्स दृश्यहरू छायांकनका लागि बुढासुब्बा मैदानमा ४२ फिट अग्लो कालीमाताको भव्य मूर्ति निर्माण गरिएको थियो, जसको व्यापक चर्चा भएको थियो ।

चलचित्रका लागि सांगीतिक संस्था आर्टमान्डु टिमका सदस्यहरूले संगीतका विभिन्न पक्षहरूमा कार्य गरेका छन् ।  गायक सुजन चापागाईं, गीतकार हर्क साउद र निर्देशक नवीन चौहानको समूहले ‘बलिदान’का गीत, संगीत तथा ब्याकग्राउन्ड म्युजिकमा काम गरिरहेको छ ।

‘आसुसेन फिल्म्स प्रालि’ को प्रस्तुति रहेको यस चलचित्रमा पवन ब्राडफोर्ड विष्ट निर्माता र प्रेम पुरी सह-निर्माताको भूमिकामा छन् ।