काठमाडाैं, फागुन ४ :

हाइड्रोजन बेलुन फुटेर घाइते भएका उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको काठमाडौंमा उपचार सुरु भएको छ ।

 अर्थमन्त्री  पौडेल र मेयरआचार्यको काठमाडौं कीर्तिपुरस्थित बर्न अस्पतालको आईसीयूमा राखेर उपचार भइरहेको छ।प्रारम्भिक मूल्यांकनअनुसार ५-६% शरीर जलेको छ, तर अनुहारमा चोट लागेकोले श्वासनली र फोक्सोमा असर पर्न सक्ने सम्भावनाका कारण उच्च निगरानीमा उपचार भइरहेको छ।

डा. विशाल कार्कीका अनुसार दुवैको अवस्था हाल सामान्य छ, तर पोलेको घाउ गहिरोमा परिणत हुने खतरा भएकाले पहिलो ४८ घण्टा आईसीयूमा राखेर निगरानी गरिनेछ। पूर्ण रूपमा घाउ गहिरो हुने/नहुने अवस्था ३-४ दिनपछि थाहा हुने उनले बताए।

उनीहरूको उपचारमा प्रा. डा. बीडी झा, डा. प्रवीण गिरी, जलन विशेषज्ञ डा. शंकरमान राई, डा. विशाल कार्की, डा. मनीष यादव, आकस्मिक उपचार टोली र नर्सिङ टोली संलग्न छन्।

अर्थमन्त्री पौडेलको हातमा र मेयर आचार्यको अनुहारको केही भाग जलेको छ ।‘पोखरा भ्रमण वर्ष’ उद्घाटन गर्ने क्रममा शनिबार नजिकै बालिएको दियो बेलुनमा सल्केपछि फुटेर आगो लाग्दा जलेर दुवै घाइते भएका हुन्।

उनीहरुलाई पोखरामा प्राथमिक उपचारपछि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको हो ।

Finance Minister Paudel and Mayor Acharya treated in ICU of Kirtipur Hospital