
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले जलविद्युत् उत्पादकलाई हात बाँधेर राखिएको बताएका छन् ।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको ‘जलविद्युत् आयोजना : लगानी, सेयर व्यवस्थापन र चुनौती’ विषयक अन्तर्क्रियामा उनले १५ खर्ब रुपैयाँ लगानी भएको क्षेत्र अन्योलको अवस्थामा रहेको बताए ।
सरकारले २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने र १५ हजार ५०० विद्युत् निर्यात गर्ने लक्ष्य राखेको छ । यसका लागि ६२ खर्ब रुपैयाँ लाग्ने अनुमान छ ।
नेपाली ऊर्जा उत्पादकहरुले १ मेगावाटबाट सुरु गरेर अहिले क्षमता बढाएर १००-२०० मेगावाटका परियोजना निर्माण गर्न सक्षम रहेको अध्यक्ष कार्कीले बताए । उनले ठुला आयोजनाका लागि मात्रै वैदेशिक लगानीकर्ता ल्याउनुपर्ने बताए ।
संसदीय समिति र धितोपत्र बोर्डको कारण सर्वसाधारणलाई दिने सेयर रोकिएको कार्कीको भनाइ छ । ‘सरकारले १० प्रतिशत सेयर स्थानीय तहलाई दिनुपर्छ भन्ने कानुनी व्यवस्था गरेको छ,’ अध्यक्ष कार्कीले भने,‘स्थानीयले सेयर किन नदिएको भनी उत्पादकहरुको गाडी फुटाउन थालेका छन् । धितोपत्र बोर्डले आईपीओ स्वीकृत नदिएसम्म उत्पादकले त सेयर दिन सक्दैनौं ।’
लेखा समितिको निर्देशनले आईपीओ निष्कासन रोकिएको बताउँदै उनले अब समितिले नै उक्त निर्णय सच्चाउनु पर्ने बताए । ‘संघीय संसद्कै लेखा समिति र अर्थसमितिबीच नै मत बाँझिएको छ,’ उनले भने, ‘हामी व्यवसायी आयोजनामा ध्यान दिनुपर्नेमा विभिन्न निकायमा धाउँदै जानुपरेको छ ।’
यस्तै कार्यक्रममा इप्पान कार्यसमिति सदस्य सुपन जोशीले जलविद्युत्मा लगानी र सेयर व्यवस्थापनमा देखिएका चुनौतीका विषयमा कार्यपत्र प्रस्तुत गरेकी थिइन् । जोशीले नेपाल सरकारले स्थानीय प्रभावित क्षेत्रका बासिन्दालाई बढीमा १० प्रतिशत सेयर दिनुपर्ने व्यवस्था रहेको छ । तर सरकारले प्राथमिक सेयरको स्वीकृत नदिँदा स्थानीयको गुनासो बढ्ने तर व्यवसायीले चाहेर पनि दिन नसक्ने अवस्था रहेको बताइन् ।
उनले लेखा समितिले २०८० पुस १२ गतेको निर्देशनका कारण आईपीओ रोकिएको उल्लेख गरिन् । ‘आईपीओबाट आउने पुँजी कम्पनीमा नआउँदा बैंक तथा वित्तीय संस्थाले ऋण रोक्ने गरेका छन्,’ जोशीले भनिन्, ‘ठुलो परियोजनाको कल्पना गर्दा क्राउड फन्डिङ एउटा माध्यम हुने तर आईपीओमा जान नसक्दा ती सेयरधनीहरुसमेत लगानी गर्न बाटपछि हट्ने अवस्था छ ।’ समयमा आयोजना नबन्दा लगानी बढ्नुका साथै नेपाल विद्युत् प्राधिकरणको पेनाल्टी लाग्ने गरेको सुनाइन् ।