काठमाडौँ, फागुन ८ :

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राजनीतिक दल र तिनका उम्मेदवार इमानदार नहुँदा निर्वाचन प्रणाली महँगो भएको बताएका छन् । 

नवौँ निर्वाचन दिवस, २०८१ का अवसरमा आज आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन व्यवस्थापन लागत कम रहे पनि राजनीतिक दल तथा उम्मेदवारहरुले आफूले गर्ने खर्चलाई देखाएर निर्वाचन प्रणाली महँगो भएको भन्ने खराब भाष्य स्थापित गरिरहेको बताए ।

निर्वाचनको बेला प्रयोग हुने राज्यसंयन्त्रको इमानदारिता माथि पनि उनले प्रश्न उठाए । निर्वाचनको मिति घोषणा भएपछि त्यस कार्यमा खटिने राज्य संयन्त्रको परिचालन निर्वाचन व्यवस्थापन गर्ने मुख्य निकायबाटै हुनुपर्ने थपलियाको भनाइ छ । निर्वाचनमा नागरिक सहभागिता बढाउन निर्वाचन शिक्षा र मतदाता शिक्षा बढाउनुपर्ने आवश्यकता पनि उनले औँल्याए ।

“लोकतन्त्र भनेको आफ्ना प्रतिनिधि आफैँ छान्ने मात्र नभई यो मान्छेको जीवन शैली र जीवन पद्धति हो । मतदान गर्नु भनेको नागरिकले आफ्नो अधिकारको आत्मबोध गर्नु हो । यो कर्तव्य बोध गर्नका लागि मतदाता शिक्षा बढाउन जरुरी छ”, थपलियाले भने। नागरिक सचेत भएमा मात्रै निर्वाचन सफल हुने उनले उल्लेख गरे । आगामी निर्वाचनका लागि मतदाता नामावली दर्ता र अद्यावधिक सम्बन्धित स्थानीय तहबाटै गर्ने व्यवस्था मिलाइने पनि थपलियाले बताए । 

त्यस्तै, आफ्नो मतदाता नामावली रहेको क्षेत्रबाट मात्र नभई देशभित्र जुनसुकै स्थानको मतदान केन्द्रबाट पनि मतदान गर्न सकिने व्यवस्था मिलाउन अति आवश्यक रहेको उनको भनाइ छ ।

निर्वाचन व्यवस्थापन तथा सञ्चालनसम्बन्धी कानुन चाँडै बनेर कार्यान्वयनमा आउने बताए । त्यस्तै, निर्वाचनका क्रममा अहिले सामाजिक सञ्जाल र कृत्रिम बौद्धिकताको व्यवस्थापन नयाँ चुनौतीका रुपमा आएको उनले उल्लेख गरे ।

निर्वाचन आयोगका सचिव भरतमणि सुवेदीले निर्वाचनका क्रममा आयोगको स्वच्छता र निष्पक्षता कायम गर्न सफल भएको बताए । निर्वाचन व्यवस्थापनका लागि विधि र पद्धति मा के- कति सुधार आवश्यक छ भनेर समीक्षा गरिनुपर्नेमा उनले जोड दिए ।

 

‘निर्वाचनको प्रभावकारिताः निर्वाचन प्रक्रियामा आम नागरिकको सहभागिता’ भन्ने मुख्य नाराका साथ मनाइएको नवौँ निर्वाचन दिवसका अवसरमा ‘निर्वाचन स्मारिका २०८१’ र ‘नेपालको निर्वाचन इतिहास- ३’ पुस्तक विमोचन गरिएको छ । 

त्यस्तै तीनवटा जिल्ला निर्वाचन कार्यालयको नवनिर्मित भवनको उद्‌घाटन गरिएको छ । दोलखा, स्याङ्जा, डडेल्धुराको जिल्ला निर्वाचन कार्यालयको भवन उद्‌घाटन गरिएको हो ।

त्यस्तै, हरेक प्रदेशबाट समान एक जना र आयोगका तीन जना गरी १० जना उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गरिएको छ ।