
नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य एवं संविधानसभा सदस्य विदुरप्रसाद सापकोटालाई अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय आलोनगरमा राखिएको छ ।
उनको निधन बिहीबार बिहान काठमाडौंको हेल्पिङ ह्यान्डस् अस्पतालमा उपचारका क्रममा भएको हो । सापकोटाको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा राखिएको हो ।
उनलाई अन्तिम श्रद्धाञ्जली दिन पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र झलनाथ खनालसमेत पार्टी केन्द्रीय कार्यालय पुगेका थिए ।
५९ वर्षीय सापकोटा २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा काभ्रे निर्वाचन क्षेत्र नम्बर ४ बाट निर्वाचित भएका थिए । उनको निधनप्रति दुःख प्रकट गर्दै पार्टीले उनको सम्मानमा श्रद्धाञ्जली अर्पण गरेको छ ।
श्रद्धाञ्जली अर्पण गर्दै पार्टीका महासचिव घनश्याम भुसालले उनको योगदानको स्मरण गर्दै उनका योगदान नवयुवाहरुमा पुर्याउने प्रतिबद्धता व्यक्त गरे । सापकोटाको पार्थिव शरीरमा पार्टीको झन्डा ओढाएर अध्यक्ष नेपालले सम्मान व्यक्त गरे ।