गोरखा, फागुन ९ :

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सहिदको बलिदानका कारण नै आजको राजनीतिक परिवर्तन सम्भव भएको बताएका छन् । उनीहरु देशका साझा सम्पत्तिको रुपमा रहेकाले सहिदको सम्मान गर्नु राज्यको दायित्व भएको उनले बताए ।

गोरखाको गोरखा नगरपालिका १४, गोप्लिङस्थित एकै घरबाट तीनजना सहिद भएका नहर्की परिवारसँग भेट गर्दै उनले यस्तो धारणा राखेका हुन् । ‘राजनीतिक परिवर्तनका लागि नेपालमा विभिन्न आन्दोलनहरु भएका छन्, तीमध्ये सबैभन्दा ठुलो र लामो समयसम्म चलेको आन्दोलन महान् जनयुद्ध हो,’ उनले भने, ‘यसमा हजारौं जनताका छोराछोरीको रगत बगेको छ । यही रगतको जगमै आजको संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएकाले सम्पूर्ण सहिदहरु देशका साझा सहिद हुन्, उनीहरुको सम्मान गर्नु राज्यको दायित्व हो ।’

पार्टीले सहिद तथा बेपत्ता परिवार घाइते योद्धाहरुको योगदानलाई प्राथमिकतामा राख्दै आएको उल्लेख गर्दै उनले आफूले तेस्रोपटक सरकारको नेतृत्व गर्दा जनयुद्धसहित आजसम्मका सबै आन्दोलनका सहिदहरुको नाम राजपत्रमा प्रकाशित गरेर राष्ट्रिय सहिदको रुपमा स्थापित गरेको बताए । यसमा छुटेका नामहरु निरन्तर सहिदको सूचीमा समावेश गरिने जानकारी पनि उनले दिए ।

सहिदको रगतका कारण आएको राजनीतिक परिवर्तनलाई संस्थागत गर्ने अभियानमा पार्टी निरन्तर जुटेको उल्लेख गर्दै अध्यक्ष दाहालले अब बदलिएको व्यवस्थाअनुकूल जनताको अवस्था बदल्न अभियानात्मक रुपमा अघि बढ्ने जानकारी दिए । शान्तिप्रक्रियामा आएपछि केही समय आफ्नो वर्ग र समुदायका जनतासँगको नियमित सम्पर्कमा कमी आएको र त्यही क्रममा सहिद तथा बेपत्ता परिवारसँगको भेटघाट पनि पातलिन पुगेको स्पष्ट गर्दै उनले पछिल्लो केन्द्रीय समितिको बैठकले पार्टीलाई पुनः आफ्नै वर्ग र समुदायमा फर्काउने निर्णय गरेको उनले बताए । उनले त्यसकै कार्यान्वयनमा आफूहरु पार्टी रुपान्तरण तथा पुनर्निर्माणको अभियान लिएर देशव्यापी रुपमा अघि बढेको पनि जानकारी दिए ।

अध्यक्ष दाहालले सरकारको काममा व्यस्त हुँदा आफ्नो निर्वाचन क्षेत्रका कार्यक्रममा बढी ध्यान नदिन नसकेको उल्लेख गर्दै सरकारबाट बाहिरिएपछि त्यसलाई बढाइएको र अब निरन्तर आफ्ना मतदातासँगको घेटघाटमा आइरहने बताए । आफू प्रधानमन्त्री हुँदा गोरखामा पूर्वाधार निर्माण र जनताको जीवनस्तर रुपान्तरणमा सहयोग पुग्ने आवश्यक बजेट विनियोजन गरिएको दाहालले जानकारी दिए । उनले यसको कार्यान्वयनमा ध्यान दिन स्थानीय पार्टी र जनसमुदायलाई आग्रह गरे ।

त्यस क्रममा अध्यक्ष दाहालले गोरखा नगरपालिका १४, गोप्लिङ निवासी सहिदहरुका बुबा नरबहादुर नहर्की र आमा लक्ष्मी नहर्कीसहित परिवारसँग भेट गरेका थिए । उनका छोरा गुप्तबहादुर नहर्की  २०५५ पुस १३ गते गोरखाको केराबारीमा, छोरीहरु सरस्वती नहर्की २०५६ वैशाख ८ गते गोरखाको बाक्राङ र कल्पना नहर्कीको २०५८ असार २३ गते लमजुङ बिचौरमा निधन भएको थियो ।

अध्यक्ष दाहाल गोरखाको पालुङ्टार ८ स्थित घरमा पुगेका सहिद विरेन ओलियाका बिरामी बुवा देवराज ओलियालाई पनि भेट गरी स्वास्थ्यलाभको कामना गरेको उनको सचिवालयले जनाएको छ ।