धरान, फागुन १० :

राष्ट्रपति रामचन्द्र पौडेलले जुनसुकै धर्म, सम्प्रदाय भए पनि सबैको लक्ष्य भनेको मानव सेवा नै भएको बताएका छन् ।

राष्ट्रपति पौडेलले श्रीकृष्ण प्रणामी धर्मशाला निर्माण समितिबाट धरानमा निर्मित धर्मशाला उद्घाटनपछि आयोजित समारोहलाई शुक्रबार सम्बोधन गर्दै भने, ‘जुनसुकै धर्म, सम्प्रदाय भए पनि सबैको लक्ष्य भनेको मानव सेवा नै हो । हरेक धर्म, सम्प्रदायलाई यही रुपमा बुझ्नसके यसले समाजमा सहिष्णुता बढाउन मद्दत पुग्छ भन्ने म ठान्दछु ।’

राष्ट्रपति पौडेलले हाम्रा धर्मशास्त्रहरूले पनि सेवालाई अत्यधिक महत्त्व र प्रधानता दिएको बताए । ‘वेदव्यासले पनि अठार पुराण रचना गरिसकेपछि यही निष्कर्ष दिनुभएको छ कि परोपकार पुण्याय, पापाय परपिडनम् ।’

हाम्रो देश पूर्वीय ज्ञान परम्पराको स्रोत भएको तथा यो ज्ञान, परम्परा र सभ्यताभित्र अनेक संस्कृति र सभ्यताको एकता र ऐक्यबद्धता देख्न सकिने उनको भनाइ थियो । राष्ट्रपति पौडेलले यो ऐक्यबद्धताले विश्वमा शान्ति, सहिष्णुता र बन्धुत्वको भावना जागृत गराउने काममा मद्दत गर्न सक्नुपर्नै पनि बताए । ‘यसका लागि मानिसभित्र आपसी मित्रता, प्रेम, सद्भाव र सहअस्तित्वको पवित्र विचार सिर्जना गर्न आवश्यक छ,’ उनले भने, ‘आज भौतिक विकाससँगै आध्यात्मिक चेतना, ज्ञान र जागरणको महसुस वर्तमान विश्वले गरिरहेको छ । आज मान्छे भौतिक विकासभित्र सुख र शान्तिको लागि भौंतारिहेको यही कारण हो ।’

विश्वमा चरम भौतिक विकासको चाहना र होडबाजी बढेको र यसका कारण समाजमा शान्ति, सुव्यवस्था, आपसी सद्भाव, सहयोगको भावना खस्कँदा रहेको उनको भनाइ थियो । ‘यो कुरा हामीले हाम्रै समाजमा पनि अनुभव गरिरहेका छौं । यस्तो अवस्थामा नेपालमा निजानन्द सम्प्रदायले चलाएको आध्यात्मिक जागरण र मानवसेवा अभियानले समाजमा प्रेम, सद्भाव र शान्ति स्थापना गरी सभ्य र सुसंस्कृत समाज निर्माणमा महत्त्वपूर्ण योगदान पुर्‍याउनेछ भन्ने मैले विश्वास लिएको छु,’ उनले भने ।

राष्ट्रपति पौडेलले हाम्रो वैदिक सनातन हिन्दू धर्म प्राचीनकालदेखि चलिरहेको धर्म भएको र यो धर्मको विराटस्वरुपका कारण यसअन्तर्गत विभिन्न संप्रदायहरूको सिर्जना हुनु स्वभाविक नै मान्न सकिने पनि बताए । उनले यस धर्मशाला भवनलाई मानवीय सेवा र भावनाले अभिप्रेरित एउटा अर्कै मन्दिरको स्वरुपमा खडा भएको आफूले अनुभूति गरेको पनि उल्लेख गरे ।

कार्यक्रममा कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलगायतले शुभकामना व्यक्त गरेका थिए ।

हेरौं थप तस्बिर :