काठमाडौं, फागुन ११ :

फागुन ११ गतेदेखि सुरु हुने केपी टोली कप राष्ट्रिय फुटबल प्रतियोगिताको तेस्रो संस्करणको तयारी पूरा भएको छ ।

आयोजक राष्ट्रिय युवा संघ नेपालले शनिबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएको हो । फागुन १९ गतेसम्म हुने प्रतियोगितामा पछिल्ला दुई संस्करणको च्याम्पियन मच्छिन्द्र क्लब, एपीएफ, नेपाल पुलिस क्लब, त्रिभूवन आर्मी क्लब, न्युरोड टिम (एनआरटी), संकटा, भुटानको ट्रास्पोर्ट युनाइटेड, उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी र आयोजकको टोलीले प्रतिस्पर्धा गर्दै छन् ।

दुई विदेशी टोलीमध्ये ब्ल्याक बुल्सले केही साताअगाडि मात्र सम्पन्न आहा-रारा फुटबल प्रतियोगिताको उपाधि जितेको थियो ।

केपी ओली कपका खेलहरू सातदोबाटो एन्फा कम्प्लेक्स र फाइनल दशरथ रंगशालामा हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले १५ लाख ११ हजार १११ र उपविजेताले ५ लाख रुपैयाँसहित ट्रफी, प्रमाण पत्र र मेडल  प्राप्त गर्नेछन् ।

गत संस्करणको विजेताले ११ लाख रुपैयाँ प्राप्त गरेको थियो । सर्वोत्कृष्ट खेलाडीले १ लाख तथा सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, उदीयमान खेलाडीले समान ५० हजार र प्लेयर अफ द म्याचले १५ हजार रुपैयाँसहित ट्रफी, प्रमाणपत्र पाउनेछन् ।

हरेक खेल जित्ने टोलीले २५ हजार रुपैयाँ पाउनेछ । प्रतियोगिताको उद्घाटन खेलमा एपीएफ र ब्ल्याक बुल्स प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।