झापा, फागुन १३ :

नेकपा माओवादी केन्द्रले आजदेखि झापाबाट एक महिने तराई मधेस जागरण अभियान सुरु गर्दैछ । 

अभियानका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका पदाधिकारी आइतबारै झापा पुगेका छन् । राति नेताहरू कार्यकर्ता र सर्वसाधारणको घरमा बसे, त्यहीँ खाना खाए । अभियान अवधिभर कोही पनि होटलमा नबस्ने नीति अन्तर्गत स्थानीयको घरघरमा बास बसेको माओवादी केन्द्र झापाका इन्चार्ज रञ्जित तामाङले बताए । 

पुस २३ गते काठमाडौँमा सम्पन्न केन्द्रीय समिति बैठकले हुलाकी मार्ग केन्द्रित अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।

चैत ७ गते कञ्चनपुरमा पुगेर अभियान समापन हुनेछ ।

सोमबार बिहान प्रचण्डको टोलीले पृथ्वीनगरको सगरमाथा सगरमाथा चोकदेखि किच्चक बध हुँदै स्थानीय चारआलीबाट पुनः सगरमाथा चोकसम्म मर्निङवाक गरे । 

मर्निङवाकका क्रममा प्रचण्डले उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मालाई दायाबायाँ राखेको देखिन्छ । उनले वर्षमान र जनार्दनको काँधमा हात राखेर आत्मियता देखाउन खोजेका छन् । सँगै शक्ति बस्नेत पनि छन् । अग्नि सापकोटासहितका नेताहरू पछाडि देखिन्छन् ।