बुटवल, फागुन १४ :

प्रधानमन्त्री केपी शर्मा ओलीले ओडिसास्थित केआईआईटी विश्व विद्यालयको होस्टलमा मृत्यु भएकी प्रकृति लम्सालका आमाबाबुसँग कुराकानी गरेका छन् ।

प्रधानमन्त्रीले टेलिफोनमा उनका परिवारसँग मंगलबार टेलिफोनमा कुराकानी गरेको एमाले नेता महेश बस्नेतले बताएका छन् । कुराकानीका क्रममा प्रधानमन्त्रीले घटनाको समग्र विषयमा  जानकारी लिँदै न्यायका लागि पहल गर्ने र अपराधमा संलग्नलाई कारबाही गर्न आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।  साथै प्रधानमन्त्री ओलीले यो प्रकरणलाई सरकारले सुरुदेखि नै गम्भीरतापूर्वक लिएको उल्लेख गर्दै प्रकृतिलाई न्याय दिलाउन प्रतिबद्ध रहेको बताए ।

कुराकानीका क्रममा प्रकृतिका बुवा सुनिल लम्सालले सरकारले पहल गरिरहेको भन्दै विदेश पढ्न जाने अन्य विद्यार्थीले भविष्यमा यस्तो पीडा भोग्न नपरोस् भनेर ध्यान दिनुपर्ने बताए ।

पूर्वमन्त्री बस्नेतले नै कुराकानीको अवसर मिलाएका हुन् । बस्नेत भैरहवास्थित लम्सालको घरमा पुगेर उनका बुबाआमा र परिवारसँग भेटी समवेदना व्यक्त गरेका थिए ।

ओडिसाको भुवनेश्वरस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत प्रकृति लम्साल फागुन ४ मा मृत फेला परेकी थिइन् ।यो घटनामा संलग्न भएको आरोपमा ओडिसा प्रहरीले भारत उत्तर प्रदेशका एक विद्यार्थीलाई हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ ।