वासिङ्टन, फागुन १५ :

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ ‘गोल्ड कार्ड’ आवासीय अनुमति ५० लाख अमेरिकी डलरमा बिक्री गर्ने योजना सार्वजनिक गरेका छन् । 

ट्रम्पले परम्परागत ग्रिनकार्डको उच्च मूल्यको संस्करण नयाँ भिसाको बिक्रीले रोजगारी सिर्जना गर्ने र अमेरिकी राष्ट्रिय घाटा कम गर्न प्रयोग गर्न सकिने बताएका छन् । 

ओभल अफिसमा पत्रकारहरुसँग कुरा गर्दै ‘गोल्ड कार्ड’ भिसा बेच्ने तयारी गरिरहेको र त्यो कार्डको मूल्य करिब ५० लाख अमेरिकी डलर मूल्य राख्ने तयारी गरिरहेका ट्रम्पले  जानकारी दिए । 

आफ्नो दोस्रो कार्यकालको पहिलो प्राथमिकता लाखौँ गैरकानुनी आप्रवासीलाई देश निकाला गरेका रिपब्लिकन राष्ट्रपति ट्रम्पले नयाँ कार्ड अत्यधिक माल्यवान् अमेरिकी नागरिकताको मार्ग हुने बताएका छन् । 

करिब दुई हप्ताभित्र कार्डको बिक्री सुरु हुने पनि ट्रम्पले जानकारी दिए । उनले नयाँ गोल्ड कार्डको लागि सबै आवेदकहरूलाई सावधानीपूर्वक जाँच गरिने बताए । 

अमेरिकी राष्ट्रपति ट्रम्पले पत्रकारहरूसँग कुरा गर्दै रुसमाथिको प्रतिबन्ध फुकुवा गर्न कुनै न कुनै समयमा सम्भव भए पनि अहिले वार्ताको टेबलमा नरहेको बताए । -एएफपी