काठमाडौं, फागुन १६ :

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पाथीभरा केबुलकार निर्माणविरुद्ध भइरहेको आन्दोलन वार्ताबाटै समाधान गर्नुपर्नेमा जोडदिएका छन् ।

गृह मन्त्रालयमा बिहीबार आयोजित गृहमन्त्री रमेश लेखक र कोसी प्रदेशका सांसदहरूबीच भएको छलफलपछि  उनले यस्तो बताएका हुन् । खतिवडाले विकास निर्माणका काम कुनै पनि बहानामा कसैले रोक्न नमिल्ने भन्दै स्थानीय तहका जनप्रतिनिधिसँग छलफल गरेर निष्कर्ष निकाल्नु पर्नेमा जोड दिए।

‘विकास निर्माणका कामहरू अवरुद्ध गर्न मिल्दैन जोसुकैले होस् । तर त्यहाँका स्थानीय जनताका मागहरू के के छन् स्थानीय लेभलमा सम्बोधन हुनुपर्‍यो। स्थानीय लेभलका मान्छेलाई बाहिरका मान्छेले उचालेर स्थानीय भन्दा बाहिरका मान्छेको उपस्थिति बढी हुने र राजनीतिकरण गर्ने पद्धतिको विरुद्ध जानुपर्छ चाहे जोसुकै होस् ।, उनले भने, ‘तर यसको मतलब सरकारले जबरजस्ती पेलेर जाने नीतिमा जानु हुँदैन । समस्याको समाधान भनेको वार्ता नै हो । स्थानीय तहका जनप्रतिनिधिहरू सबैसँग छलफल गरेर एउटा निष्कर्षमा पुग्नु पर्दछ ।’

सबै पार्टीका नेताहरूलाई छलफलका लागि बोलाइएकाले छिट्टै एउटा निष्कर्षमा पुग्ने उनको भनाइ छ । सांसद खतिवडाले केबुलकार निर्माणको अनुमति २०७५ सालमै दिएको स्मरण गर्दै अहिले स्थानीय जनताले नभइ बाहिरका व्यक्तिहरूले आन्दोलन चर्काएर राजनीतिकरण गर्न खोजेको आरोप लगाए ।