मिथिला मध्यमा परिक्रमा सुरु भएको छ ।
मिथिला मध्यमा परिक्रमाको डोला मिथिला बिहारी नगरपालिकास्थित कचुरी मठबाट बिहीबार निस्किएको हो । फागुन औँसीका दिन धनुषाको कचुरी मठबाट परिक्रमाको मुल डोला सञ्चालन गर्ने परम्परा रहेको छ । डोलामा सीतारामको मूर्ति सजाएर परिक्रमा गर्ने गरिन्छ ।
मिथिला बिहारीको डोला तथा जनकपुरस्थित अग्निकुण्डबाट निस्कने किशोरीजीको डोला जानकी मन्दिर भएर जनकपुरको हनुमाननगर पुगेपछि मध्यमा परिक्रमाको विधिवत रुपमा सुरुवात गर्ने परम्परा रहेको मिथिला बिहारी कचुरी मठका महन्थ रामनरेश शरणले बताए ।
मिथिला बिहारी मठबाट निकालिएको मिथिला बिहारीको डोला आज (बिहीबार) जनकपुरस्थित हुनमान नगरमा विश्राम गर्ने उनको भनाइ छ । परिक्रमामा सहभागी साधु-सन्त तथा श्रद्धालु शुक्रबार बिहान पूजा-अर्चना गरेर भारत बिहारको कल्याणेश्वर प्रस्थान गर्नेछन् ।
नेपाल भारत दुवै मुलुकको धार्मिक, सांस्कृतिक एवं पारम्परिक सद्भावको प्रतीक बनेको परिक्रमा यात्राको क्रममा नेपालमा १३ तथा भारतमा २ गरी १५ विश्रामस्थल छन् । सोही क्रममा जनकपुरको हनुमाननगरबाट भारत बिहारको कल्याणेश्वर तथा फूलहर, महोत्तरीको मटिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड, कञ्चनवन, धनुषाको पर्वता, धनुषाधाम, सतोषर ,औरही, विशौल हुँदै पुनः कल्याणेश्वर पुगेर परिक्रमा जनकपुरधाम फर्केर विश्राम गर्छन् ।
फागुन पूर्णिमाका दिन परिक्रमामा सहभागी जनकपुरधामको परिक्रमा अर्थात् अन्तगृह परिक्रमा पूरा गरेर घर फर्कने गर्छन् । परिक्रमामा सहभागी श्रद्धालु नेपालको १ सय ७ एवं भारतको २६ गरी १३३ किलोमिटर भूमिको पैदलयात्रा गर्छन् ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
बूढीगण्डकी बाढीः नेपाली सनाको उद्धार टोली प्रभावित क्षेत्रमा सक्रिय
बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात
चुमनुब्रीका ३५ घर बगे, दोभान, घट्टेखोला, जगत् र सल्लेरी गाउँमा व्यापक क्षति