रुपन्देही, फागुन १७ :

रुपन्देहीको तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल स्टेडियममा जडान सम्पन्न भएको फ्लड लाइटको परीक्षण सम्पन्न भएको छ ।

पाँचवटै फ्लड लाइटको बिहीबार राति परीक्षण भएको हो । स्टेडियममा प्रबन्ध निर्देशक विनोद कुँवरले फ्लड लाइडको चेकिङ सकिएको र अब टेस्टिङ बाँकी रहेको जानकारी दिए ।

अब प्राविधिक पक्षहरु सुधार गरेसँगै केही दिनभित्रै टेस्टिङ सकिने उनले जनाए । निजी क्षेत्रले सुरु गरे पनि स्टेडियम सरकारकै सम्पत्ति भएको बताए । विदेशमा बसेर केही सिकेर देशका लागि योगदान गरेको उनको भनाइ छ । उनले खेलकुद जगतले देशलाई चिनाउने भन्दै त्यसका लागि आफूले प्रयास गरेको बताए ।

बनाउन सुरु गरेको डेढ वर्ष भएको बताउँदै डेढ वर्षमा कामहरु आफूले आँट गरेअनुसार सम्पन्न गरेको भन्दै कुँवरले आईसीसी मापदण्डअनुसार आवश्यक काम पूरा गरेको बताए ।

उनले भीआईपी बिल्डिङ निर्माणाधीन रहेको र तेस्रो तलासम्मको ढलान सम्पन्न भइसकेको जानकारी दिए । प्यारापिट बनाउने काम बाँकी रहेको पनि जानकारी दिए । प्रधानमन्त्री कप एक्स्ट्राटेक ओभल स्टेडियममा हुने कुराले थप खुसी भएको उनले प्रतिक्रिया दिए । अबको साढे २ वर्षभित्र २५ हजार दर्शक क्षमताको प्यारापिटसहितको स्टेडियम तयार गर्ने उनले प्रतिबद्धतासमेत जनाए ।