
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सक्कली मधेसवादी दल माओवादी मात्रै भएकाले अब मधेसी जनताको मुक्तिको सम्पूर्ण जिम्मा माओवादीले लिने बताएका छन् ।
जनतासँग माओवादी, तराई मधेस जागरण अभियानअन्तर्गत सप्तरीको राजविराजमा आयोजित स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी र नागरिक समाजका अगुवाहरुसँगको अन्तर्किया जनतासँग माओवादी, तराई मधेस जागरण अभियानअन्तर्गत सप्तरीको राजविराजमा आयोजित स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी र नागरिक समाजका अगुवाहरुसँगको अन्तर्कियालाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् ।
मधेसी जनता मधेसवादको नारामा स्थापित नक्कली मधेसवादी दलको भुलभुलैयाको परेको औल्याउँदै अध्यक्ष दाहालले उनीहरुबाट मधेसी जनताको मुक्ति नहुने प्रमाणित भइसकेकाले अब वास्तविक मधेसवादी दल माओवादीसित जोडिनुपर्ने बेला आएको बताए ।
आफूलाई मधेसवादी भन्ने दलहरुको दिशा जनतातिर नभई प्रतिक्रियावादी दिशाउन्मुख रहेकाले नक्कली मधेसवादी दलसँग सावधान रहन उनले आग्रह गरे । मधेसको मुक्तिविना देशको मुक्ति सम्भव छैन भन्ने दृढ मान्यताका साथ पार्टीले सबैभन्दा पहिले मधेसी मुक्ति मोर्चा गठन गरेर जनयुद्ध थालनी गरिएको स्मरण गराउँदै अध्यक्ष दाहालले मधेससँगै वर्गीय मुक्तिका लागि जीवन आहुति दिने एक हजार तीन सय मधेसका सहिदसहित मधेस मुक्तिका लागि ज्यान गुमाउने सबै सहिदका सपनाको जिम्मेवारी पनि अब माओवादीले लिने प्रतिबद्धता व्यक्त गरे ।
संघीयता, समावेशिताको बढी आवश्यकता मधेसी समुदायलाई भएको र यसको नेतृत्वकर्ता शक्ति माओवादी भएकाले अब माओवादी र मधेसी जनतको एकता अपरिहार्य र अनिवार्य भइसकेको अध्यक्ष दाहालले स्पष्ट गरे । अन्य प्रदेशमा पहिचानको सवाल कम सम्बोधन भए पनि मधेस प्रदेशको नामकरण पहिचानबाट भएकामा गर्व महसुस भएको उल्लेख गर्दै उनले माओवादी र मधेसी जनता एक ठाउँमा केन्द्रित हुने होइन भने प्राप्त उपलब्धि खोसिने खतरा रहेकोतर्फ सचेत रहनुपर्ने बताए ।
राजनीतिक दलका तर्फबाट माओवादीले नै पहिलोपटक हुलाकी मार्ग केन्द्रित राजनीतिक अभियान सुरु गरिएको उल्लेख गर्दै उनले यसको मुख्य उद्देश्य यस क्षेत्रका जनताको आर्थिक सामाजिक जीवनमा परिवर्तन ल्याउनु भएको स्पष्ट गरे ।
नेपालमा सबैभन्दा पुरानो सडकको रुपमा हुलाकी मार्ग रहे पनि राज्यले अलपत्र पारेको अवस्थमा आफू प्रधानमन्त्री भएको बेला भारत भ्रमणमा जाँदा समकक्षी नरेन्द्र मोदीलाई यो सडक बनाउने हो कि होइन भनेर प्रश्न गरेपछि उनले बनाउने नै हो भन्ने प्रतिबद्धता जनाएको दाहालले स्मरण गरे । उनले त्यसपछि हुलाकी मार्ग निर्माण सुरु भएको र आफूले सिराहामा आएर यसको उद्घाटन गरेको दाबी गरे ।
मधेसमा सिँचाइ, मल बिउ आदिका समस्या समाधान, कृषि उत्पादन वृद्धि र बजारीकरण, शिक्षा, स्वास्थ्य आदिको अवस्थामा परिवर्तन ल्याउन पार्टी पूर्ण रुपमा समर्पित भएर लाग्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।
सोही अवसरमा पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले माओवादी नेतृत्वको सरकारले थालेको मिटरब्याज पीडितलाई न्याय दिन थालेको ऐतिहासिक अभियान अहिले रोकिएको उल्लेख गर्दै पार्टीको गत केन्द्रीय समिति बैठकले मधेस प्रदेशमा प्रदेशस्तरीय र अन्य प्रदेशका जिल्लाहरुमा मिटरब्याज पीडित संघर्ष समिति बनाएर आन्दोलन अघि बढाउने जानकारी दिए । पार्टीले थालेको सुशासनको अभियान भ्रष्टाचारविरुद्धको अभियान मात्र नभएर दलाल पुँजीवादविरुद्धको आन्दोलन भएको उनको भनाइ छ ।
नेसपा अध्यक्ष महेन्द्रराय यादवले माओवादी जनयुद्धका कारण नै गणतन्त्र सम्भव भएको उल्लेख गर्दै नेपालमा पहिलो गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंह र दोस्रो गणतन्त्रवादी नेता दाहाल भएको बताए । मधेसको समस्या राष्ट्रिय समस्या भएको उल्लेख गर्दै उनले माओवादी केन्द्रले उठाएको हुलाकी मार्ग केन्द्रित मधेस जागरण अभियानलाई आफ्नो पार्टीले समर्थन गरेको बताए ।
पूर्वप्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको संस्थापक दलको नाताले यो व्यवस्थाको रक्षा र कार्यान्वयनका लागि पनि माओवादीले नै पहल लिनुपर्ने बताए । नेपालको अर्थ सामाजिक रुपान्तरण अबको मूल दायित्व भएको उल्लेख गर्दै उनले मुलुकलाई समाजवादमा लैजान खोजिए पनि आर्थिक विभेद अझै कायम रहेकाले यसमा गहिरो ध्यान ध्यान जानुपर्ने बताए ।
सहभागीहरुले मधेसमा शैक्षिक अवस्था कमजोर रहेको, राजनेताहरुको शिक्षामा ध्यान नदिएको, हिजो हिमाल र पहाडलाई शिक्षा दिने मधेस अहिले आफैं पछि परेको, मधेसी समुदायले गुणस्तरीय स्वास्थ्य पाउन नसकेको, युवाहरु विदेश पलायन भइरहेको उल्लेख गर्दै यी क्षेत्रमा सबैको ध्यान जानुपर्ने सुझाव दिएका थिए ।
उनीहरुले मधेसी जनताको अवस्था बदल्ने अभियानलाई प्राथमिकताका साथ अघि बढाउन र त्यसका लागि सबै दल एक ठाउँमा उभिन उनीहरुले आग्रह गरे ।
नीति, कानुन र कार्यक्रम तथा बजेट बनाउँदा जनताको सहभागिता सुनिश्चित गरिनुपर्ने उल्लेख गर्दै उनीहरुले महिला, दलित, मधेसी, मुस्लिम, जनजाति जस्ता पछाडि पारिएको समुदायको मुक्तिको झन्डा उठाउने माओवादीले नै यसलाई कार्यान्वयनमा जोड दिनुपर्ने सुझाए ।