काठमाडौं, फागुन १७ :

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले हमासको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको अवस्थाबारे यथार्थ जानकारी प्राप्त हुन नसकेको बताएकी छन् ।

संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को ५८औं उच्चस्तरीय सत्रमा भाग लिई शुक्रबार स्वदेश फर्किएपछि त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग उनले विपिन जोशीको यथार्थ जानकारी प्राप्त हुन नसके पनि रिहाइका लागि भने पहल गरिरहेको बताइन् ।

उनले हमासको कब्जामा नेपाली रहेको भए रिहाइका हुने आश्वासन अन्तर्राष्ट्रिय जगतबाट पाएको दाबी पनि गरिन् । विपिन जोशीको रिहाइका लागि अधिकतम कूटनीतिक पहल गरेको उनको भनाइ छ ।

संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यसहितको उम्मेदवारीमा नेपाललाई मतदान गर्न आफूले विश्व समुदायलाई आग्रह गरेको र उहाँहरूले पनि नेपाललाई सहयोग गर्ने वचन दिएको परराष्ट्रमन्त्री देउवाले जानकारी गराइन् ।

भ्रमणका क्रममा देउवाले संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्च आयुक्त भल्कर टकसँग भेटवार्ता गरी नेपालमा मानवअधिकार तथा संक्रमणकालीन न्यायको अवस्थाका बारेमा जानकारी गराएको उनको सचिवालयले जनाएको छ ।

जेनेभा भ्रमण उपलब्धिमूलक भयो : परराष्ट्रमन्त्री राणा

सचिवालयका अनुसार देउवाले जेनेभामा रहँदा स्विट्जरल्यान्ड, नर्वे, स्पेन, स्लोभाकिया, फिलिपिन्स, अजरबैजान, किर्गिस्तान, मेक्सिकोलगायत मुलुकका समकक्षी, प्रतिनिधिमण्डल र नेताहरूसँग भेटवार्ता गरी द्विपक्षीय हित र चासोका विषयमा छलफल गरेकी थिइन् ।

भ्रमणका क्रममा संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोग, जेनेभाले आयोजना गरेको स्वागत समारोहमा उपस्थित भएका एक सयभन्दा बढी मुलुकका नियोगप्रमुख तथा प्रतिनिधि एवं संयुक्त राष्ट्रसंघलगायत विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थाका पदाधिकारीसँग पनि परराष्ट्रमन्त्री देउवाले नेपाललाई मानवअधिकार परिषद्को सदस्यमा मत दिएर सहयोग गर्न आग्रह गरेकी थिइन् ।

देउवा ६ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत शनिबार जेनेभा गएकी थिइन् । उनीसहितको प्रतिनिधिमण्डल आज बिहान साढे १० बजे काठमाडौं आइपुग्ने कार्यक्रम थियो । यहाँको मौसम खराब भएपछि दोहाबाट आएको कतार एयरवेजको विमान भारतको कोलकाता डाइभर्ट गरिएको थियो । त्यसपछि देउवा अपराह्न मात्र काठमाडौं आइपुगेकी थिइन् ।