संखुवासभा, फागुन १७ :

आज बिहान गएको भूकम्पले सङ्खुवासभाको भोटखोला गाउँपालिका र पाँचखपन नगरपालिकामा दुई घर भत्किएका छन् । 

भोटखोलामा एक र पाँचखपनमा एक घरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए । 

सिन्धुपाल्चोकको भैरबकुण्ड आसपास केन्द्रबिन्दु भएर बिहान २ बजेर ५१ मा गएको ६. १ म्याग्निच्युडको भूकम्पले भोटखोला- १ किमाथाङ्काका फुर्पुनावा भोटे र पाँचखपन नगरपालिका- १ नागीडाँडाका लाक्पा दोर्जेको घरमा क्षति पुगेको प्रनाउ बस्नेतले बताए ।

नावा भोटेको दुईतले टिनको छानो भएको घरमा आंशिक क्षति पुगेको छ । त्यसैगरी  लाक्पाको ढुङ्गा माटोले बनेको दुईतले घर चिरा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

सदरमुकाम खाँदबारी आसपासका क्षेत्रमा भूकम्पको ठूलो धक्का महसुस गरिएको थियो । गत पुस २३ गते चीन प्रान्तको दिङ्गे काउन्टीमा केन्द्रबिन्दु भएर सात रेक्टर स्केलको भूकम्प जाँदा किमाथाङ्कामा एक घरमा क्षति पुगेको थियो ।