सिन्धुपाल्चाेक, फागुन १७ :

सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रविन्दु भएर आज (शुक्रबार) बिहान गएको भूकम्प धेरै जिल्लामा महसुस गरिए पनि सात जिल्लामा भने असर पुर्याएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

नेपाल प्रहरीका प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले प्राप्त विवरणअनुसार भूकम्पका कारण सिन्धुपाल्चोक, भोजपुर, काठमाडौँ, दोलखा, सङ्खुवासभा, म्याग्दी र धादिङमा मानिस घाइते हुनुका साथै केही घरमा क्षति भएको जानकारी दिए । 

उनका अनुसार भूकम्पका कारण ती जिल्लाका ६ जना घाइते भएका छन् । सबै क्षेत्रमा गरेर कुल एक पूर्ण र तीन आंशिक गरी चार घर तथा एउटा गोठमा क्षति पुगेको छ । सिन्धुपाल्चोकको कोदारीमा एक प्रहरी कार्यालयमा पनि आंशिक क्षति पुगेको प्रहरीले जनाएको छ ।

सिन्धुपाल्चोक भूकम्पबाट सङ्खुवासभामा दुई घरमा क्षति

काठमाडौँमा दुईजना घाइते भएका छन् भने सङ्खुवासभामा दुई घरमा क्षति पुगेको छ । सिन्धुपाल्चोकमा एक कैदी घाइते भएका छन् । तीन परिवार विस्थापित भएका प्रहरीले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । ती जिल्लामा अहिलेसम्म प्राप्त विवरण अनुसार १३ वटा घटना भएका प्रहरी नायब महानिरीक्षक आचार्यले बताए ।

आज बिहान २ बजेर ५१ मिनेटमा भूकम्प गएको थियो । उक्त भूकम्पको धक्का देशका धेरै जिल्लाहरुमा महसुस गरिएको थियो ।