महोत्तरी, फागुन १८ :

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको निर्देशनमा बर्दिबासका पाँच अस्पताल बन्द भएका छन्। 

बन्द भएका अस्पतालहरूमा पिनाकल हस्पिटल, ऊँ समाज डेन्टल क्लिनिक, खर्गा डेन्टल केयर सेन्टर, सुरक्षा अर्थोपेडिक एन्ड डेन्टल क्लिनिक प्रालि, र खोमुसरा डेन्टल क्लिनिक प्रालि रहेका छन्। 

यी अस्पतालहरूले सेवा सञ्चालन अनुमति नलिएको र आवश्यक कागजपत्र चुस्त नदेखिएको कारण मुख्यमन्त्री सिंहले तत्काल बन्द गर्न निर्देशन दिएका थिए। शुक्रबार अनुगमनका क्रममा अवैध रूपमा सञ्चालन भएको भेटिएपछि ती अस्पताल शनिबारदेखि बन्द गरिएका हुन्।

मुख्यमन्त्री सिंहले बर्दिबासका आठ अस्पतालको अनुगमन गरेका थिए, जसमा पाँच अस्पताल बन्द गर्न र बाँकी तीन अस्पताललाई सेवा अनुमतिपत्र नवीकरण गर्न निर्देशन दिएका छन्।बन्द भएका अस्पतालहरूलाई कानुनी प्रक्रिया पूरा गरी आवश्यक अनुमति लिएर मात्र पुनः सञ्चालनमा आउन सकिने बताइएको छ।