
प्रतीकात्मक तस्बिर ।
रुपन्देही, फागुन १८ :
रुपन्देहीको मायादेवी गाउँपालिकामा एक युवकको गोली हानेर हत्या गरिएको छ। मायादेवी गाउँपालिका-२, डङ्गचाहावाका २९ वर्षीय राजु भनिने राजेशसिंह लोध शनिबार बिहान घरमै मृत अवस्थामा फेला परेका हुन्।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी सुरज कार्कीका अनुसार लोधको टाउकोमा दुईवटा गोली लागेको छ। प्रारम्भिक अनुसन्धानका आधारमा दाजुभाइबीच लामो समयदेखि चलिरहेको जग्गा विवादकै कारण दाजु दीपक लोधले हत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ।
घटना शुक्रबार राति भएको हुन सक्ने अनुमान गरिएको छ भने दीपक लोध अहिले फरार छन्। घटनाको जानकारी पाएलगत्तै प्रहरीको टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको डीएसपी कार्कीले जानकारी दिएका छन्।