
बाह्रबिसे नगरपालिका–२ गुम्बेडाँडा का ४८ वर्षीय करे तामाङले २०७२ सालको विनाशकारी भूकम्पले घर भत्काइदिएपछि बनाएको नयाँ घर पनि शुक्रबार बिहान गएको भूकम्पले भत्काइदिएको छ । उनले सरकारी अनुदानको सहयोगमा बल्लतल्ल नयाँ घर बनाएका थिए ।
भैरवकुण्ड आसपास केन्द्रबिन्दु भएको ६.१ रेक्टर स्केलको भूकम्पले ढुंगामाटो र जस्तापताले बनेको तामाङको दुईकोठे घर पुनः ध्वस्त बनायो। घर भत्के पनि ज्यानको क्षति हुनबाट जोगिए तर उनकी ४२ वर्षीया पत्नी गीता तामाङ घाइते भइन्।
राति भूकम्प आएपछि भाग्ने क्रममा गीताको बाँया हात र ढाडमा पर्खालको ढुंगा लागेर चोट लागेको छ। एम्बुलेन्स बोलाउने खर्चसमेत नभएपछि उनी घाइते अवस्थामा घरमै थन्किएकी थिइन्। बाह्रबिसे नगरपालिकाका प्रतिनिधिहरूले नगरको सवारीमार्फत उद्धार गरी काठमाडौंको वीर अस्पताल पुर्याएका छन्।
जुगल गाउँपालिका–५ वाङ्कुचेका ५१ वर्षीय कार्पु लामाको घर पनि भूकम्पले क्षतिग्रस्त बनायो।२०७२ सालको भूकम्पपछि चार वर्ष लगाएर बनाएको भुइँतले घर शुक्रबारको भूकम्पले चर्किएको छ। अबको पराकम्पले घर नै भत्किन सक्ने डरले उनले सामान सारेर अर्को अस्थायी आवासमा राखेका छन्।
शुक्रबार बिहान गएको भूकम्पपछि सीमाक्षेत्रका गाउँ र बजारका बासिन्दा त्रासमा बाहिर निस्केर बसे। स्थानीयहरू पराकम्पको डरले घरबाहिरै रात बिताउने मानसिकतामा पुगेका छन्।
भूकम्पले दोहोरिँदै आघात पुर्याएका परिवारहरूका लागि राहत, पुनर्निर्माण र सुरक्षित आवासको व्यवस्था तुरुन्त गर्नुपर्ने स्थानीय जनप्रतिनिधिहरूले बताएका छन्।