काठमाडौं, फागुन १९ :

यही फागुन २९ गते रिलिजको तयारीमा रहेको नेपाली चलचित्र ‘अञ्जिला’ को शुक्रबार सार्वजनिक गरिएको ट्रेलर नेपालका लागि युट्युब ट्रेन्डिङको चलचित्र सेक्सनको दोस्रो स्थानमा पुगेको छ ।

समाचार तयार पार्दासम्म करिब ८ लाख भ्युज रहेको ट्रेलरले व्यापक सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ । ट्रेलरमा महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा नम्बर एक गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको फुटबलप्रतिको चाहना, क्षमता र घरभित्रबाट बाहिर निस्कन गरेको सङ्घर्षदेखि कप्तान बन्दा सम्मको कथा रहेको छ ।

दर्शकले एन्जिलालाई आफ्नै वास्तविक कथामा बनेको चलचित्रमा अभिनेत्रीका रूपमा समेत आफैँले निभाएको भूमिकामा अभिनयको प्रशंसा गरेका छन् ।

युट्युबमा ट्रेलर हेरेपछि धेरै दर्शकले भावुक भएको प्रतिक्रिया जनाएका छन् । यस चलचित्रले नेपाली चेलीको कथालाई प्रतिनिधित्व गरेको र यसले नेपाली खेलाडीलाई मात्र नभई यस्तै सङ्घर्षबाट गुज्रिरहेका कैंयन् नेपाली चेलीलाई समेत प्रोत्साहन गर्ने विश्वास दर्शकले व्यक्त गरेका छन् ।

देशको नाम राख्न गौरवपूर्ण काम गर्ने खेलाडीको कथामा बनेको यस चलचित्रलाई सबैले हेरी सफल बनाउन आह्वान भएका प्रतिक्रियाहरू समेत युट्युबमा प्राप्त छन् ।

चलचित्रका निर्देशक मिलन चाम्सले चलचित्र ‘अञ्जिला’ को ट्रेलरलाई प्राप्त दर्शकको माया र प्रतिक्रियाका लागि आभार व्यक्त गरे । उनले युट्युबको ट्रेन्डिङमा दोस्रो स्थानमा पुगेकामा खुसी व्यक्त गर्दै, चलचित्रलाई पनि यसरी नै माया गर्न दर्शकलाई आग्रह गरेका छन् । चाम्सले विशेषगरी खेलप्रेमी र खेलाडीलाई यो चलचित्र हेर्न अनुरोध गरेका छन् ।

‘यो खेलाडीको कथामा यो चलचित्र हो । अन्य दर्शकले त हेरिहाल्नु हुन्छ । खेलप्रेमी र खेलाडीहरूप्रति मेरो विनम्र आग्रह छ कि यो चलचित्र हामीले सफल गराउन सकियो भने आगामी दिनमा खेलसम्बन्धी चलचित्रहरू बनाउन नेपाली चलचित्र निर्माताहरूले लगानी गर्नेछन्,’ चाम्सले बताए ।

चलचित्रमा एन्जिलाको साथमा, प्रेमकुमार श्रेष्ठ, दयाहाङ राई, सुनील थापा, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङलगायतको अभिनय छ ।

चलचित्रको छायाङ्कन एञ्जिलाको जन्मथलो इलामको आइतबारे, झापा, र काठमाडौंमा गरिएको छ । चलचित्रको छायाङ्कन सुदीप बरालले गरेका छन् भने सम्पादन मिलन श्रेष्ठले गरेका छन् । मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा निर्मित चलचित्रका निर्माता प्रेमकुमार श्रेष्ठ हुन् । टुबेन्द्र लिम्बू, विनोद अग्रवाल र राजेश बगडिया सह-निर्माता हुन् ।