मुगु, फागुन २० :

रारा घुम्न आएका एकजना आन्तरिक पर्यटकको मृत्यु भएको छ ।

रारा घुम्न आएका काभ्रेको धुलिखेल नगरपालिका १० स्थायी ठेगाना भएका ५४ वर्षीय भुवन विश्वकर्माको आज (सोमबार) बिहान लेक लागेर मृत्यु भएको प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेको जानकारी दिए ।

जिल्ला अस्पताल मुगुका चिकित्सक नकुल शाहीका अनुसार विश्वकर्मा आइतबार राति ९ बजे श्वास फेर्न समस्या भएपछि जाँच गर्न जिल्ला अस्पताल पुगेका थिए । जाँच पछि शरीरमा अक्सिजनको कमी छ आजको रात यतै अस्पताल भर्ना हुनुस् भन्दा उनले नमानेको अस्पतालले जनाएको छ ।

स्वास्थ्य जाँचपछि सल्लेरी फर्किएका तर सोमबार बिहान ६ बजेतिर उनलाई साथीहरूले एम्बुलेन्समा लिएर आएका थिए । अस्पताल पुग्दा उनको मृत्यु भइसकेको चिकित्सक शाहीले जानकारी दिए ।

शाहीका अनुसार भुवनमा मोटोपन थियो । ‘दमको पनि दीर्घरोगी पनि हुनुहुँदो रैछ । हिमपात भएको बेला, चिसो मौसम, उच्च हिमाली भूभागमा अक्सिजनको कमीको कारण लेक लागेर काडियो प्रमोनरी एरेस्ट हुँदा उहाँको मृत्यु भएको हो,’ उनले भने ।

विश्वकर्मासहित २५ जनाको टोली आइतबार मात्र घुम्नका लागि रारा ताल क्षेत्रमा पुगेको थियो ।