
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतको ओडिसास्थित केआईआईटी विश्वविद्यालयमा रहस्यमय मृत्यु भएकी नेपाली विद्यार्थी प्रकृति लम्साललाई न्याय दिलाउने विश्वास व्यक्त गरेकी छन् ।
मन्त्री डा. राणा र गृहमन्त्री रमेश लेखकले आज भैरहवामा प्रकृतिका बुबाआमा र आफन्तजनलाई भेटेर समवेदना प्रकट गर्दै उनको मृत्युको सत्यतथ्य पत्ता लगाई दोषीमाथि कडा कारबाहीका लागि पहल गरिएको बताइन् ।
प्रकृतिलाई न्याय दिलाउन आफूले सुरुदेखि नै कूटनीतिक पहल जारी राखेको पनि मन्त्री राणाले बताइन् ।
‘मैले कुटनीतिक माध्यमबाट भारत सरकारसँग दोषीमाथि कानुनी कारबाहीका लागि पहल गर्न भनेकी छु र यसलाई निरन्तर फलोअप पनि गरिरहेकी छु,’उनले भनिन् ‘सरकारले यसलाई फलो गरिरहेको छ । प्रकृतिलाई न्याय दिलाउने काममा म र गृहमन्त्रीजीले कुनै कसर बाँकी राख्ने छैनौँ ।’
यस घटनालाई ओडीसा राज्यले गम्भीर रुपमा लिएको र उच्चस्तरीय छानबीन समिति गठन गरेर काम सुरु भइसकेको जानकारी आफूलाई गराएको पनि मन्त्री डा. राणाले त्यस अवसरमा बताइन् ।केआईआईटी विश्वविद्यालयमा अध्ययनरत प्रकृतिको यही फागुन ४ गते रहस्यमय मृत्यु भएको थियो ।