
तनहुँ, भदौ ६ :
बिजुलीको लाइन काटेपछि तनहुँमा उपभोक्ताले धमाधम विद्युत् महसुल बुझाउन थालेका छन् ।
नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले लाइन काटेर दुई करोड ५० लाखभन्दा बढी बक्यौता सङ्कलन गरेको छ । कार्यालयले आर्थिक वर्ष २०८०- ८१ मा लाइन काटेर दुई करोड ६८ लाख ४५ हजार सात सय बक्यौता सङ्कलन गरेको हो ।
केन्द्रका प्रमुख विजय रेग्मीले एक हजार चार सय ३६ जना ग्राहकको लाइन काटिएकोमा एक हजार दुई सय ७३ ग्राहकले बक्यौता वापतको रकम बुझाएको जानकारी दिनुभयो ।
विद्युत् चुहावट नियन्त्रणका लागि केन्द्रले नचलेका मिटर निःशुल्क बदली, नाङ्गो तार हटाइ केबल विस्तार, कन्डक्टर साइज स्तरोन्नति, ट्रान्सफर्मर लोड सेन्टर थप लगायत काम गरेको पनि प्रमुख रेग्मीले बताउनुभयो ।