
नेप्सेको उकालो यात्रामा फेरि पनि ब्रेक लागेको छ । यसअघि लगातार नौ दिनसम्म उकालो लागेर सोमबार १३ अंकले घटेको नेप्से साताको तेस्रो कारोबार दिन आज (मंगलबार) पनि ३० दशमलव ३६ अंकले घटेर २८ सय ४६ दशमलव ३० अंकमा झरेको छ ।
(क) वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव ३१ अंकले घटेर चार सय ७५ दशमलव २७ अंकमा झरेको छ । नेप्सेमा आज ३१८ कम्पनीको एक लाख २२ हजार तीन सय ३६ पटकको कारोबारमा दुई करोड ६३ लाख ८९ हजार नौ सय १० कित्ता सेयर खरिद बिक्री भए । जसअनुसार कुल कारोबार रकम १२ अर्ब ९४ करोड ६४ लाख ९३ हजार नौ सय ३९ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ समूहको सेयर कारोबार भएकामा सबै समूहको सूचक घटेर राताम्मे भएको छ । त्यसमध्ये वाणिज्य बैंक समूहको सूचक १५ दशमलव ३२ अंकले घटेर १४ सय ३२ दशमलव ३६ अंकमा झरेको छ । विकास बैंक समूहको सूचक २३ दशमलव १६ अंकले घटेर पाँच हजार आठ सय ८० दशमलव ७२ अंकमा झरेको छ ।
फाइनान्स समूहको सूचक ६० दशमलव ९४ अंकले घटेर २८ सय ३४ दशमलव शून्य पाँच अंकमा झरेकामा जलविद्युत् समूहको सूचक ४१ दशमलव ८९ अंकले घटेर तीन हजार आठ सय पाँच दशमलव ४५ अंकमा झरेको छ ।
यसैगरी जीवन बिमा समूहको सूचक एक सय एक दशमलव ५८ अंकले घटेर १४ हजार पाँच सय ७० दशमलव २९ अंकमा झरेको छ । निर्जीवन बिमा समूहको सूचक एक सय ४९ दशमलव ६२ अंकले घटेर १३ हजार तीन सय नौं दशमलव ५२ अंकमा झरेको छ ।
यीबाहेक होटेल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य र व्यापार समूहको सूचक पनि क्रमशः ६७ दशमलव ३२, दुई दशमलव शून्य ६, एक सय ७३ दशमलव ७२, ७५ दशमलव शून्य ६, शून्य दशमलव ११, एक दशमलव ५९ र ३६ दशमलव ५० अंकले घटेका छन् ।
जापानदेखि अमेरिकासम्मकै सेयर बजारमा गिरावट, नेपाल र भारतमा पनि प्रभाव
नेप्सेमा आज (मंगलबार) बढी कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी परेको छ । बढी गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा सिन्धु विकास बैंक परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीको सूचीमा भने हिमालयन री-इन्स्योरेन्स कम्पनी परेको छ ।