
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाइए त्यसको सडक र सदन दुवैबाट विरोध हुने चेतावनी दिएका छन् ।
प्रतिनिधिसभामामा बुधबार आकस्मिक समयमा उनले घिसिङलाई हटाउन सरकारले प्रपञ्च गरिरहेको आरोप पनि लगाए ।
‘कुलमान घिसिङलाई हटाउने जो प्रपञ्च गरिँदै छ । मन्त्रिपरिषद्बाट निर्णय हुँदै छ भन्ने सुन्नमा आएको छ,’ शाहीले भने, ‘यदि कुलमान घिसिङलाई हटाइयो भने नेपाललाई अन्धकारतिर धकेलेको ठानेर सडक र सदन दुईवटैबाट आवाज उठ्छ ।’
प्राधिकरणलाई घिसिङले नाफामा लगेको पनि सदनमा शाहीले बताए । उनले भने, ‘०७२/७३ सालमा नेपाल विद्युत् प्राधिकरण आठ ८९ करोड रुपैयाँको घाटामा थियो । अहिले ०८१/८२ को ६ महिना अझै बाँकी छ । प्राधिकरणको ११ अब ३६ करोड रुपैयाँ फाइदामा छ ।’
उनले नेपालबाट लोडसेडिङ हट्नुमा घिसिङले महत्त्वपूर्ण कार्य गरेको दाबी पनि गरे । उनले सदनमा प्रश्न गर्दै भने, ‘अन्धकार नेपाललाई उज्यालो नेपाल बनाउने कुलमान घिसिङलाई कारबाही मात्र होइन कि शून्य नम्बर दिने । उहाँहरू (सरकार) को बस चल्ने हो भने भोलि पास हुनेलाई फेल फेल हुनेलाई पास यो कस्तो हो ?’
उनले दशरथ रंगशालामा नेपाली नागरिकले कुटाइ खाएको भन्दै त्यसबारे प्रश्न उठाएका छन् । उनले खुल्लमखुला जनतालाई कुट्ने अधिकार कसैलाई नभएको भन्दै त्यसबारे सरकारको ध्यानाकर्षण गराएका छन् । उनले कवितात्मकशैलीमा ‘पार्टीका बिल्लाधारी गुन्डाहरुको देखियो ताण्डव नाच’ भन्दै सरकारको आलोचनासमेत गरे ।