
उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले विश्वभर अस्थिरताको संकेत देखापरेको अवस्थामा बुद्धको शिक्षाले शान्ति कायम गर्न सक्ने बताएका छन् ।
बुद्ध जन्मस्थल लुम्बिनीमा चौथो अन्तर्राष्ट्रिय त्रिपिटक वाचन समारोहको उद्घाटन गर्दै उपप्रधानमन्त्री सिंहले बुद्धको शिक्षाहरुलाई पुनर्ताजगी गराई त्रिपिटक पाठले विश्वमै लुम्बिनीबाट शान्तिको सन्देश जाने विश्वास व्यक्त गरे ।
बुद्धजन्मस्थल लुम्बिनीलाई विश्वशान्तिको सन्देश दिने थलोका रुपमा विकास गर्नुपर्नेमा सिंहको जोड छ । उनले लुम्बिनी विकास कोषले पूर्वाधार विकाससँगै त्रिपिटक पाठजस्ता अन्तर्राष्ट्रिय स्तरका कार्यक्रमलाई बढाउनुपर्ने सुझाए ।
अखिल नेपाल भिक्षु महासंघको आयोजना तथा लुम्बिनी विकास कोषसहित विभिन्न संस्थाको सहआयोजनामा लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा त्रिपिटक वाचन सुरु गरिएको छ । फागुन २५ गतेसम्म चल्ने त्रिपिटक पाठ समारोहमा बिहान साढे ७ बजेदेखि साँझ ५ बजेसम्म मायादेवी मन्दिर परिसरमा चल्नेछ ।
उद्घाटन समारोहमा म्यानमार, थाइल्यान्ड, श्रीलंकाका राजदूतसहित विभिन्न देशबाट आएका बौद्ध धर्मगुरू र भिक्षुहरूको उल्लेख्य सहभागिता थियो ।