
सङ्घीय संसद् अन्तर्गत आज प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दैछ ।
आज दिउँसो १ : १५ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा विभिन्न पाँच अध्यादेशहरू स्वीकृतिका लागि पेस गर्ने कार्यसूची रहेको छ ।
बैठकमा सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, निजीकरण (पहिलो संशोधन), आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने, सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
यी अध्यादेश बुधबार प्रतिनिधि सभाबाट पारित भइसकेका छन् । भूमिसम्बन्धी अध्यादेशबारे अझै सहमति जुट्न सकेको छैन ।
राष्ट्रिय सभामा आज प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०८०-०८१ को वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलसँग प्रश्नोत्तरको कार्यसूची पनि रहेको संसद् सचिवालयले जनाएको छ ।
त्यस्तै, आजै दिउँसो एक बजे प्रतिनिधि सभाको बैठक पनि बस्दै छ ।
आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले निकासी पैठारी (नियमन) विधेयक, २०८१ माथि बिचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।