काठमाडौं, फागुन २३ :

शिवरात्रिको अवसर पारेर फागुन १४ गतेबाट रिलिज आएको चलचित्र ‘लाज शरणम्’ प्रदर्शनको दोस्रो साता प्रवेश गरेको छ ।

राम्रो व्यापारसहित सिनेमा दोस्रो सातामा प्रवेश गरेको निर्माण पक्षले जनाएको छ । मल्टिप्लेक्स चेन क्यूएफएक्समा काठमाडौं उपत्याकामा मात्रै यो सिनेमालाई बिहीबार २१ शो दिइएको छ । देशभर १५० भन्दा बढी शो रहेको निर्माता नवीन श्रेष्ठले जानकारी दिए ।

‘हाम्रो चलचित्र सफलतासहित दोस्रो सातामा प्रवेश गरेको छ,’ उनले भने, ‘दर्शकको राम्रो प्रतिक्रिया र राम्रो व्यापार गर्दै लाज शरणम् दोस्रो सातामा प्रवेश गरेको हो ।’

‘लाज शरणम्’ले पहिलो दिन एक करोड १० लाख रुपैयाँ ग्रसकलेक्सन गरेको थियो । त्यसयताको कलेक्सन भनेको निर्माणपक्षले सार्वजनिक गरेको छैन ।  

चलचित्रमा महेश त्रिपाठी, सीताराम कट्टेल, विजय बराल, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, अर्पण थापालगायत कलाकार मुख्य भूमिकामा छन् । ‘लाज शरणम्’लाई कुमार कट्टेलले निर्देशन गरेका हुन् ।