
काठमाडौं महानगरपालिकाले निमित्तलाई आर्थिक अधिकार दिन माग गरेको छ । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई कार्यालयमा हाजिर नगराउने भन्दै महानगरले अर्को प्रशासकीय अधिकृत पठाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेको छ ।
गुरागाईंलाई हाजिर गराएमा महानगरका विभिन्न परियोजना र कार्यहरूमा नकारात्मक प्रभाव तथा कानुनी झण्झट पर्ने महानगरको पत्रमा उल्लेख छ । त्यतिञ्जेलका लागि निमित्त प्रशासकीय अधिकृतलाई आर्थिक अधिकार दिन माग गरिएको हो ।
गुरागाईंलाई काम गर्न दिन काठमाडौं महानगरलाई संघीय मामिला मन्त्रालयको अनुरोध
मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत गुरागाईँलाई काम गर्ने वातावरण बनाइदिन भन्दै हिजो काठमाडौं महानगरपालिकालाई पत्राचार गरेको थियो । महानगर प्रमुख बालेन्द्र साह ‘बालेन’ले हाजिर गर्न नदिएको गुनासो आएपछि मन्त्रालयले कर्मचारीलाई काम गर्ने वातावरण बनाइदिन महानगरलाई आग्रह गरेको थियो । गुरागाईंले आफूलाई गत पुस ८ गतेदेखि कार्यालयमा हाजिर गर्न नदिएको भन्दै मन्त्रालयसमक्ष लिखित गुनासो गरेपछि मन्त्रालयले यस्तो आग्रह गरेको हो ।