काठमाडौं, फागुन २४ :

सूचना, सञ्चार तथा प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले राजतन्त्र फर्किहाल्ने सम्भावना नरहेको दाबी गरेका छन् ।

सिंहदरबारमा मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिकपछि शुक्रबार सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले पूर्वराजा ज्ञानेन्द्र शाहले पछिल्लो समय गरिरहेका क्रियाकलापलाई ‘हैसियत भुलेको’ भन्दै टिप्पणी पनि गरे ।

उनले भने, ‘म फेरि फर्कन्छु भनेर जुन खालको हर्कत भइरहेको छ । योचाहिँ उसले आफ्नो हैसियत भुलेको हो ।’

राजाले कसरी देश बचाउन सक्छ भन्दै प्रवक्ता गुरुङले दुनियाँको कुन देशमा राजाले देश बचाएको छ ? भन्दै प्रतिप्रश्नसमेत गरे । ‘एउटा कुलमा जन्मिएका कारणले मुलुकको तीन करोड जनताको सबैभन्दा श्रेष्ठ ठहरिन्छ । जसको शासनमुनि हामीलाई बस्न बाध्य पारिन्छ,’ उनले भने, ‘त्यस्तो प्रणाली कसरी मान्ने ? राजावादी मच्चिँदै हिँड्दैमा राजा फर्किन्छ जस्तो लाग्दैन ।’