रौतहट, फागुन २५ :

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको जीवन बदल्ने अभियानमा केन्द्रित हुनुपर्ने बताएका छन् ।

रौतहटको गरुडा नगरपालिका वडा नम्बर ५ ले सुरु गरेको विपन्न नागरिकका लागि राइस कुकर वितरण कार्यक्रमको उद्‌घाटन गर्दै उनले यस्तो धारणा राखेका हुन् ।

लामो बलिदानीपूर्ण आन्दोलनको बलमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएसँगै एक चरणको राजनीति क्रान्ति पूरा भएको र अब समाजवादी क्रान्तिको तयारीमा जुट्नुपर्ने उल्लेख गर्दै अध्यक्ष प्रचण्डले समाजवादका लागि जनताको आर्थिक सामाजिक रुपान्तरण अनिवार्य भएकाले कम्युनिस्ट क्रान्तिकारीहरु अब यसमै केन्द्रित हुनुपर्ने बताए ।

उनले रौतहट क्रान्तिकारी कम्युनिस्टहरुको किल्ला भएको उल्लेख गर्दै यहाँ भएको किसान बिद्रोहले देशभर सामन्तवादविरुद्धको आन्दोलनलाई प्रेरणा दिएको बताए ।

कार्यक्रममा ११५ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शुभकामना दिँदै महिलाले पाएको राजनीतिक अधिकारको रक्षा र कार्यान्वयन गर्दै हरेक क्षेत्रमा समानुपातिक रुपमा महिला सहभागिता बढाउन सङ्कल्प गर्नुपर्नेमा जोड दिए ।

हुलाकी मार्ग केन्द्रित जनतासँग माओवादी, तराई मधेस जागरण अभियान अन्तर्गत आज रौतहटमा कार्यक्रम हुँदैछ ।