
शुक्रबार रिलिज भएको नेपाली चलचित्र ‘होस्टेल ३’ को विकेन्ड ओपनिङ उत्साहजनक भएको छ ।
देशभरका हलहरूमा शुक्रबार करिब ५० प्रतिशत अकुपेन्सी थियो । शनिबार बिहानैदेखि भने धेरै हलहरूमा शतप्रतिशत र केहीमा ८० देखि ९० प्रतिशतसम्म अकुपेन्सी रहेको काठमाडौं उपत्यकाका वितरक गोविन्द शाहीले बताए । त्यस्तै, काठमाडौं उपत्यका बाहिरका वितरक रोहित कट्टेलले अपेक्षाभन्दा व्यापक रूपमा चलचित्रले सफलता प्राप्त गरेको बताए ।
यसैबीच, यस चलचित्रका कलाकारहरू शनिबार बिहानैदेखि काठमाडौंका हलहरूमा दर्शक भेट्न पुगेका छन् । दर्शकले कलाकारहरूलाई बोकेरै नचाएका थिए । खुसीले हुटिङसमेत गरेका थिए ।
दर्शकले होस्टेल ३ अपेक्षा गरिएको भन्दा निकै राम्रो रहेको भन्दै पूर्ण मनोरञ्जन प्राप्त गरेको प्रतिक्रिया दिएका छन् । हलहरूमा कलाकारहरू पारस बम ‘कुलब्वाय’, सिम्रन पन्त, पदम तामाङ, आशिष घिमिरे, हेना नगरकोटी, सन्तोष बानियाँ, समा पराजुली, विलियम पीएनसहित निर्देशक सशान कँडेल पनि पुगिरहेका छन् । उनीहरूले दर्शकसँग प्रतिक्रिया लिँदै फोटो र भिडियो खिचाइरहेका छन् ।
निर्देशक सशान कँडेलले आफ्नो पहिलो निर्देशनमा नै दर्शकबाट अप्रत्याशित माया पाएकामा खुसी व्यक्त गरे । उनले भने, ‘चलचित्रले दुई दिनमै उत्साहजनक व्यापार गरेको छ । तर मेरा लागि सबैभन्दा ठुलो उपलब्धि दर्शकको माया र सकारात्मक प्रतिक्रिया हो । व्यापार त महत्त्वपूर्ण छ । तर त्योभन्दा पनि महत्त्वपूर्ण कुरा दर्शकले चलचित्रलाई कसरी आत्मसात् गर्छन् भन्ने हो ।’
उनका अनुसार ‘होस्टेल ३’ ले दर्शकलाई भरपुर मनोरञ्जन दिन सफल भएको छ । ‘म यो सफलता मेरो मात्र नभएर सम्पूर्ण टिमको मिहिनेतको परिणाम हो भन्ने मान्छु । नेपाली चलचित्रप्रति दर्शकहरूको यो माया निरन्तर रहोस्,’ कँडेलले थपे ।
माधव शर्माले पटकथा तथा संवाद लेखेका हुन् भने उनी एसोसिएट निर्देशक पनि हुन् । चलचित्रका निर्माता सुरेश कँडेल, कर्ण कार्की र गोविन्द अधिकारी हुन् भने सह-निर्मातामा शिशिर ज्ञवाली, अनिश सिग्देल, कुन्दन गुप्ता र गणेश मगर रहेका छन् । शङ्कर कोइराला कार्यकारी निर्माता हुन् भने कोशिशराज क्षेत्री लाइन प्रोड्युसर हुन् ।
अर्जुन तिवारीले छायाङ्कन निर्देशन गरेको यस चलचित्रको सम्पादन विकास दाहालले गरेका छन् । हिमाल केसी एक्सन निर्देशक हुन् । अर्जुन पोखरेल, अल्मोडा राणा उप्रेती, महेश ज्ञवाली र किरण माइकलले सङ्गीत दिएका छन् । यम ओलीले प्रोडक्सन डिजाइन गरेका छन् भने प्रवीण सिंह र रोशन विश्वकर्माले नृत्य निर्देशन गरेका छन् । चलचित्रको वितरण काठमाडौं उपत्यकामा काफिया फिल्म्स (गोविन्द शाही) र उपत्यकाबाहिर आरआर फिल्म्स (रोहित कट्टेल, रत्न श्रेष्ठ) ले गरेका छन् ।