काठमाडौं, फागुन २६ :

राजावादीहरूले आज राजधानी काठमाडौंमा शक्ति प्रदर्शन गर्दै छन् । पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्ने नाममा राजावादीहरूको शक्ति प्रदर्शन गर्न लागेको हो । पूर्वराजा शाह आज पोखराबाट काठमाडौं फर्किँदै छन् ।

उनको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भेला हुन राजधानीका विभिन्न स्थानबाट राजावादीहरु जुलुस निकालेर विमानस्थल अगाडि पुगेका छन् ।राजावादीहरूले धुमधामका स्वागतको तयारी गरेपछि  त्रिभुवन विमानस्थल वरपरको क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

त्रिभुवन  विमानस्थलमा पनि सुरक्षा व्यवस्था कडा पारिएको छ ।  हवाइ टिकट  भएका  यात्रु र कर्मचारी बाहेक अरुलाई विमानस्थल प्रवेशमा निषेध गरिएको छ । यात्रुहरूलाई मुख्य गेटबाट प्रवेशमा रोक लगाइएको छ। टिकट र ब्याग चेक गरी उनीहरूलाई  भित्र प्रवेश गर्न दिइएको छ।

यसैबीच स्थानीय प्रशासनले सुरक्षा सतर्कता बढाएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले सुरक्षाको प्रबन्ध बलियो पारिएको बताए ।  उनले सुरक्षाका सबै निकायहरू परिचालन गरिएको जानकारी दिए ।राजावादीहरुले पूर्व राजालाई विमानस्थलबाट नारायणहिटी प्रवेश गराउनेसम्मको तयारी गरेका छन् । तर, त्यो भने अहिलेको अवस्थामा सम्भव देखिदैन ।