काठमाडौं, फागुन २६ :

राष्ट्रिय सभाका सांसदहरुले राजतन्त्र पक्षधरको नाराजुलुसदेखि दलितमाथिको विभेद, शिक्षक आन्दोलन, हवाई सुरक्षालगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रिय सभाको आजको बैठकको शून्य समयमा नेकपा एकीकृत समाजवादीका सांसद उदयबहादुर बोहोराले केही समययता काठमाडौँलगायत मुलुकका केही सहरमा नाराजुलुस भइरहेको उल्लेख गर्दै लोकतन्त्रमाथि प्रहार भएकामा चिन्ता व्यक्त गरे ।

उनले सरकार र राजनीतिक दलले कार्यशैली सच्याउन आवश्यक रहेको बताए । मुलुकबाट बेतिथिको अन्त्य, महङ्गी नियन्त्रण र सुशासन प्रवद्र्धनमा सरकार दृढतापूर्वक लाग्नुपर्नेमा उनको जोड थियो ।

सोही पार्टीका सांसद गोमादेवी तिमल्सिनाले लामो समयदेखि उदयपुर सिमेन्ट उद्योग नेतृत्वविहीन भएको र कर्मचारीहरुले महिनौदेखि तलब नपाएको उल्लेख गरिन् । उनले तत्काल  उद्योग  सञ्चालन गर्न समेत सरकारको ध्यानाकर्षण गराइन् ।

राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्माले दलितमाथिको विभेदका घटना बढिरहेको उल्लेख गर्दै ती घटनामा संलग्नहरु कानुनी दायरामा आउन माग गरे । उनले पीडितलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसमक्ष माग गरे ।

सांसद मदनकुमारी शाहले महिलालाई आत्मनिर्भर बनाउन र समृद्ध नेपाल निर्माणको अभियानमा लाग्न आग्रह गरिन् ।

सांसद राजेन्द्रलक्ष्मी गैरेले सामुदायिक विद्यालयमा पठाउने शिक्षक आन्दोलनमा रहेको उल्लेख गर्दै विगतमा भएका सम्झौता कार्यान्वयन हुन नसकेको बताइन् । उनले शिक्षकको माग सम्बोधन गर्नसमेत माग गरिन् ।

नेपाली कांग्रेसका सांसद दुर्गाकुमारी गुरुङले बर्दिया राष्ट्रिय निकुञ्ज आसपासका बासिन्दा जङ्गली जनावरको आक्रमणको त्रासले सास्ती बेहोरिरहेको उल्लेख गर्दै निकुञ्ज क्षेत्रका बस्तीमा तारजालीको व्यवस्था गर्न माग गरिन् ।

कांग्रेसकै सांसद नारायणदत्त मिश्रले देशभरका शिक्षकहरु आन्दोलनमा रहेको भन्दै उनीहरुको मागलाई वार्ताको माध्यमबाट समाधान खोज्न सरकार समक्ष माग गरे । उनले महिलाको हक अधिकार संरक्षण र यसको क्षेत्रको दायरा फराकिलो बनाउन सरोकारवाला गम्भीर हुनुपर्नेमा जोडदिए ।

सांसद युवराज शर्माले संविधानको संरक्षण र कार्यान्वयनका लागि यसका पक्षधर राजनीतिक दलहरुबीच अधिकतम सहमति गरी मुलुकमा सुशासन प्रवर्द्धन र जनआकांक्षा पूरा गर्न प्रतिबद्धताका साथ लाग्नुपर्नेमा जोड दिए ।

नेकपा माओवादी केन्द्रका सांसद भुवनबहादुर सुनारले मुलुकका केही स्थानमा भएका घटनाका सम्बन्धमा सरकारको ध्यानाकर्षण गराए । माओवादीका अर्का सांसद सुरेश आले मगरले महिला मुक्ति आन्दोलनका लागि अझै सङ्घर्ष जरुरी रहेको बताए । उनले बागबजारदेखि मैतीदेवीसम्मको सडक दुईतर्फी बनाउन सरकारसमक्ष माग गरे ।

जनता समाजवादी पार्टीका सांसद मोहम्मद खालिदले केही दिनअघि बुद्ध एयरको एउटा जहाज जनकपुरबाट पाङ्ग्राविना काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विषयले हवाई सेवा र सुरक्षित यात्राबारे प्रश्न उठेको भन्दै सरोकारवालाको ध्यानाकर्षण गराए ।