
सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लले महिला न्यायाधीशले क्षमता अभिवृद्धि र अध्ययनमा बढी ध्यान दिनुपर्ने बताएकी छन् ।
अन्तर्राष्ट्रिय महिला न्यायाधीश दिवसका अवसरमा सोमबार‘दोस्रो महिला न्यायाधीश सम्मेलन–२०८१’ को उद्घाटनका अवसरमा उनले क्षमताको प्रश्न आउँदा महिला न्यायाधीशको मात्रै बढी आउने गरेको चर्चा गर्दै क्षमता अभिवृद्धि, अध्ययनमा बढी ध्यान दिनुपर्ने आवश्यकता औंल्याएकी हुन् ।
उनले न्यायको सेवा दिने बेलामा महिला न्यायाधीश मात्रै संवेदनशील हुन्छन्, भन्ने नभए पनि महिला न्यायाधीशको उपस्थित महत्त्वपूर्ण भएको बताए ।
सोही कार्यक्रमको उद्घाटन गर्दै प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्यायाधीशहरूले विवेकपूर्ण तरिकाले न्यायपर्ने गरी काम गर्नुपर्ने बताए । उनले महिला न्यायाधीशको गौरव गरिरहँदा न्यायालयको गरिमा र मर्यादालाई ध्यानमा राखेर काम गर्नुपर्ने बताए ।
नेपालको प्रथम महिला प्रधानन्यायाधीश सुशीला कार्कीले पछिल्लो तीन वर्षमा महिला न्यायाधीशको उपस्थित राम्रो हुँदै गएको र महिला न्यायाधीशमा क्षमता, साहस र अध्ययन जरूरी भएको बताइन्। उनले न्यायिक निर्णय गर्दा न्याय पर्नेगरी निर्धक्क भएर गर्नुपर्ने र त्यसका लागि महिला न्यायाधीश अब्बल हुनुपर्नेमा जोड दिइन् ।
सर्वोच्च अदालतका न्यायाधीश तथा न्यायाधीश समाजका अध्यक्ष तिलप्रसाद श्रेष्ठले गुणस्तरीय न्यायका लागि यस्ता सम्मेलन जरूरी भएको र न्याय सम्पादनमा समेत सहज हुने बताए ।
सम्मेलनमा ५० जना देशभर कार्यरत महिला न्यायाधीश र १० जना पूर्व प्रधानन्यायाधीश तथा न्यायाधीश गरी ६० जनाको सहभागिता रहेको छ । सम्मेलनमा प्रथम महिला प्रधानन्यायाधीश कार्कीलाई न्याय क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै प्रधानन्यायाधीश राउतले सम्मान गरेका थिए ।