काठमाडौं, फागुन २९ :

प्रतिनिधिसभाको बैठक सुरु भए लगत्तै १५ मिनेटका लागि स्थगित गरिएको छ ।

प्रतिनिधिसभाको बुधबारको बैठक सुरु हुँदा सरकारका प्रतिनिधि अर्थात् मन्त्री कोही पनि उपस्थित नभएपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।

बैठकको सुरुमै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले कुनै पनि मन्त्री बैठकमा उपस्थित नभएको भन्दै बैठक अघि बढ्न नसक्ने भन्दै आपत्ति जनाएका थिए ।

सरकारले सदन र जनप्रतिनिधिलाई हेपिरहेको भन्दै पाण्डेले नियमावली विपरीत  बैठक चल्न सक्दैन भन्दै नियमापत्ति जनाएका थिए ।

तत्पश्चात सभामुख घिमिरेले प्रतिनिधिसभाको नियमावली २०७९ को नियम ६ को उपनियम ६ बमोजिम संसद बैठक १५ मिनेटको लागि स्थागित गरेका हुन् । ११ बजे बस्ने भनिएको बैठक ढिला गरी सुरु भएको थियो।