काठमाडौं, चैत १ :

लगानीकर्ताहरुका लागि यो साता सेयर बजार खासै सुखद हुन सकेन । साताको सुरुवाती कारोबार दिनदेखि नै ओरालो लागेको नेप्सेको यात्राले तेस्रो दिनसम्म निरन्तरता पायो ।

चौथो दिन दोहोरो अंकले उकालो लागेको नेप्सेले लगानीकर्ताहरुको मनोबल खासै बढाउन सकेन । यसकारण पनि यो साता नेप्से सूचक तथा कारोबार रकम दुवै औसतमा बित्यो । नेप्से २,७३६.४८ विन्दुमा सीमित हुँदा (क) वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि ४५९.०३ विन्दुमा सीमित हुन पुग्यो ।

यो साता ३२३ कम्पनीको तीन लाख ७० हजार सात सय ७० पटक सेयर किनबेच भएको छ । जसबाट सात करोड ६३ लाख २२ हजार दुई सय ४६ कित्ता सेयर खरिद-बिक्री हुँदा कुल कारोबार रकम ३५ अर्ब ९ करोड ८१ लाख २६ हजार ९ सय ९३ रुपैयाँ पुग्यो । यो कारोबार रकम अघिल्लो साताभन्दा २७ अर्ब रुपैयाँले कम हो । गत साता धितोपत्र बजारमा ६२ अर्ब ५५ करोड ५९ लाख ५२ हजार चार सय २७ रुपैयाँको सेयर कारोबार भएको थियो ।

गत साता ३१८ कम्पनीको सेयर पाँच लाख ९६ हजार नौ सय ८५ पटकको कारोबारमा १२ करोड ९१ लाख ८२ हजार पाँच सय ३९ कित्ता सेयर खरिद-बिक्री हुँदा उक्त परिमाणमा रकम कारोबार भएको थियो । नेप्सेको नियमित कारोबार कक्ष यो साता चार कार्य दिन मात्र खुला थियो । चौथौ दिन नेप्से दोहोरो अंकले उकालो लागेको थियो । बाँकी तीन कार्य दिन लगातार ओरालो लागेको थियो । पाँचौं कार्यदिन भने होलीको सार्वजनिक बिदा परेका कारण नेप्सेको नियमित कारोबार कक्ष बन्द थियो ।

दैनिक रुपमा भन्नुपर्दा पहिलो दिन नेप्से ४६.३३ अंकले घटेर २,७७२.१० अंकमा खुम्चिएकामा सेन्सिटिभ इन्डेक्स पनि ७.३१ अंकले घटेर ४६३.२९ अंकमा खुम्चिएको थियो । दोस्रो दिन पनि नेप्से २०.६८ अंकले घटेर २,७५१.४२ अंकमा खुम्चिएकामा सेन्सिटिभ इन्डेक्स पनि ३.५३ अंकले घटेर ४५९.७६ अंकमा खुम्चिएको थियो ।

तेस्रो दिन पनि नेप्से ३२.२१ अंकले घटेर २,७१९.२० अंकमा खुम्चिएकामा सेन्सिटिभ इन्डेक्स पनि ३.२८ अंकले घटेर ४५६.४७ अंकमा खुम्चिएको थियो । चौथो दिन भने नेप्से १७.२८ अंकले बढेर २,७३६.४८ अंकमा पुग्न सफल भएकामा सेन्सिटिभ इन्डेक्स पनि २.५५ अंकले बढेर ४५९.०३ अंकमा पुग्न सफल भएको थियो ।

यो साता हिमालयन री-इन्स्योरेन्स कम्पनी, नेपाल पुनर्बिमा कम्पनीको बढी रकम कारोबार भएका छन् । कारोबार भएकामा सेयर संख्यामा पनि यिनै कम्पनीहरुको वर्चश्व छ । बजार पुँजीकरणका आधारमा भने नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अगाडि देखिएका छन् ।