
बागलुङको निसीखोला गाउँपालिकाले ‘मगर खाम भाषा’ को स्थानीय पाठ्यपुस्तक पठनपाठन गराउन थालेको छ ।
गाउँपालिकाले यस वर्षदेखि गेमी (हाम्रो) निसीखोला नाम पाठ्यपुस्तक तयार गरेर पठनपाठन गराउन थालेको हो । सात वडा रहेको निसीखोलामा वडा नं ५ र ६ मा मात्र खाम भाषा बोल्ने गरिन्छ ।
अन्य वडामा भने नेपाली भाषामै पाठ्यपुस्तक तयार गरेर लागू गरेको निसीखोला गाउँपालिकाका शिक्षा शाखा प्रमुख विष्णुप्रसाद न्यौपानेले जानकारी दिए । उनका अनुसार अन्य वडाका विद्यालयमा पढाइ हुने विषयवस्तु एउटै भए पनि दुई वटा वडाका १६ विद्यालयमा ‘मगर खाम भाषा’ पाठ्यपुस्तक पढाइ हुने गरेको छ ।
पालिकाभर ४५ विद्यालय भए पनि २९ विद्यालयमा नेपाली भाषमा पढाइ हुने उनले बताए । अहिले कक्षा १ मा स्थानीय पाठ्यपुस्तक लागू गरेको भन्दै शैक्षिकसत्र २०८२ मा कक्षा २ र ३ मा पनि पठनपाठन गराउने शाखा प्रमुख न्यौपाने बताउँछन् । सोहीअनुसार पाठ्यपुस्त छपाइको काम भइरहेको उनले जानकारी दिए ।
निसीखोलामा विभिन्न जातजातिका बसाइ रहेको र खासगरी वडा नं ५ र ६ मा मगर खाम भाषा बोल्ने गर्दछन् ।
न्यौपानेले कक्षा १ देखि ८ सम्म पाठ्यक्रम तयार भएको भन्दै पाठ्यपुस्तक प्रत्येक वर्ष छपाइ गर्ने र लागू गर्दै जाने बताए । खाम भाषाको पुस्तक तयार गर्न मगर प्रतिष्ठानबाट चार जना र स्थानीय सात जना विज्ञ परिचालन गरेको उनको भनाइ छ । पाठ्यपुस्तक तयार गर्न केही अप्ठ्यारो परेको न्यौपानेले सुनाए ।