काठमाडौं, चैत १ :

गत शुक्रबार सार्वजनिक प्रदर्शनमा आएको नेपाली चलचित्र ‘होस्टेल ३'का निर्माताले पहिलो साताको एकमुस्ट व्यापार सार्वजनिक गरेका छन् । सार्वजनिक तथ्यांकअनुसार यस चलचित्रले बिहीबारसम्ममा चार करोड ३२ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ ।

‘होस्टेल ३' चलचित्र निर्माण कम्पनी सम्मान इन्टरटेन्मेन्टका सञ्चालकसमेत रहेका यसका निर्देशक सशान कँडेलले वितरकहरूबाट प्राप्त डीसीआर रिपोर्टका आधारमा व्यापारिक आँकडा निकालेको बताए । ‘हामीलाई वितरकले दिएको व्यापार रिपोर्ट नै आधिकारिक हुन्छ । वितरकले दिएको बिहीबारसम्मको रिपोर्टमा चार करोड ३२ लाख ग्रस कलेक्सन देखिएको छ,’ उनले भने । उनका अनुसार यस चलचित्रले काठमाडौं उपत्यकामा दुई करोड ३० लाख र उपत्यकाबाहिर दुई करोड दुई लाख रुपैयाँ कलेक्सन गरेको छ ।

चलचित्रलाई काठमाडौंमा गोविन्द शाही नेतृत्वको काफिया फिल्म्स र उपत्यकाबाहिर रोहित कट्टेल र रत्न श्रेष्ठ नेतृत्वको आरआर फिल्म्सले वितरण गरेका छन् । तीन नयाँ नेपाली चलचित्र रिलिजका बाबजुद पनि हलहरूमा ‘होस्टेल ३'को अधिक मात्रा शो कटौती भएका छैनन् । कतिपय हलहरूमा नयाँ चलचित्रहरूको भन्दा ‘होस्टेल ३’ को शो बढी रहेका छन् ।

यसैबीच, ‘होस्टेल ३’ बिहीबारदेखि मध्यपूर्वका देशहरू संयुक्त अरब इमिरेट्स, कतार र बहराइनमा पनि प्रदर्शनमा आएको छ । जहाँ दर्शकको उपस्थिति उल्लेख्य देखिएको छ ।

‘नन होलिडे’ रिलिजमा समेत दर्शक हलमा उर्लिएका छन् । युवा पुस्तालाई लक्षित यो चलचित्रले नेपाली चलचित्रका मुख्य दर्शक वर्गलाई आकर्षित गरेको छ । डिजिटल युगका लोकप्रिय अनुहारहरूले अभिनय गरेको यस चलचित्रमा पारस बम ठकुरी, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, समा पराजुलीलगायतको मुख्य भूमिका छ । प्रवीण खतिवडाले वार्डेनको भूमिका निभाएका छन् । आशिष पुरुष, रोहन श्रेष्ठ, उमर खान र सन्तोष बानियाँ पनि चलचित्रमा रहेका छन् ।

चलचित्रमा माधव शर्माले पटकथा तथा संवाद लेखन तथा एसोसिएट निर्देशन छ । चलचित्रका निर्माता सुरेश कँडेल, कर्ण कार्की र गोविन्द अधिकारी हुन् भने सह-निर्मातामा शिशिर ज्ञवाली, अनिश सिग्देल, कुन्दन गुप्ता र गणेश मगर छन् । शंकर कोइराला कार्यकारी निर्माता हुन् भने कोशिशराज क्षेत्री लाइन प्रोड्युसर हुन् ।