
विद्युत् नियमन आयोगको सदस्य भागिरथी भट्टराई ज्ञवालीले शपथग्रहण गरेकी छन् ।
यही फागुन २६ गते बसेको मन्त्रिपरिषद्को बैठकले आयोगको सदस्यमा नियुक्ति भट्टराईले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको उपस्थितिमा मन्त्रालयमा शपथग्रहण गरेकी हुन् । उनलाई विद्युत् नियमन आयोगका अध्यक्ष रामप्रसाद धितालले शपथग्रहण गराएका थिए ।
यसअघि २०७६ देखि २०८१ वैशाखसम्म सोही आयोगको सदस्यमा कार्यरत भट्टराईले आज (शुक्रबार) दोस्रो कार्यकालका लागि शपथग्रहण लिएकी हुन् । आयोग स्थापनाकालमा सदस्य रहेकी भट्टराईले सोही समयमा विद्युत्को उपभोक्ता हक, हित र संरक्षण समितिको संयोजकका रुपमा काम गरेकी थिइन् ।
अर्थशास्त्र र जनप्रशासनमा स्नातकोत्तर ५९ वर्षीय भट्टराई २०६९ सालदेखि २०७३ सम्म खानेपानी महसुल निर्धारण आयोगको सदस्य थिइन् । यसअघि उनी ग्लोबल आईएमई बैंकको स्वतन्त्र सञ्चालक थिइन् ।
शपथग्रहण समारोहमा उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री खड्काले ढिलै भए पनि नियमन आयोगले पूर्णता पाएको भन्दै उत्पादन बढ्दै जाँदा नियमनकारी निकायको जिम्मेवारी पनि बढ्दै गएको बताए । ‘सरकारले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ,’ उनले भने, ‘उक्त लक्ष्य पूरा गर्न नियमनकारी निकायको जिम्मेवारी अझ बढी छ ।’
उनले प्रसारण लाइन निर्माणमा निजी क्षेत्रलाई ल्याउँदै गर्दा कति शुल्कमा दिने भन्नेबारे आयोगले चाँडो टुङ्ग्याउनुपर्ने समेत बताए । सरकारले लिएको ऊर्जा विकासको लक्ष्य पूरा गर्न आयोग सारथिका रुपमा उभिनुपर्ने मन्त्री खड्काको भनाइ थियो । उनले बढी विद्युत् खरिद गर्नेलाई कसरी सहुलियत दरमा विद्युत् उपलब्ध गराउन सकिन्छ त्यसबारे समेत आयोगले अध्ययन गर्नुपर्ने उल्लेख गरे ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्यले पछिल्लो समय नियमनकारी निकायको महत्त्व र भूमिका बढ्दै गएको भन्दै आफ्नो ज्ञान, सीप र क्षमतालाई आयोगमा अधिकतम रुपमा लगाउन आग्रह गरे ।
विद्युत् नियमन आयोगका अध्यक्ष रामप्रसाद धितालले सरकारले लिएको ऊर्जा विकास मार्गचित्रको लक्ष्य पूरा गर्न आयोगले काम गरिरहेको उल्लेख गरे । उनले आयोगले पूर्णता पाएकाले अब टिमवर्कबाट सकारात्मक परिणाम निकाल्नेगरी काम गर्ने बताए ।
कार्यक्रममा सिँचाइ सचिव सरीता दवाडी, मन्त्रालयका वरिष्ठ ऊर्जाविज्ञ प्रवल अधिकारी, विद्युत् विकास विभागका महानिर्देशक नवीनराज सिंह र विद्युत् नियमन आयोगका सदस्यहरुको सहभागिता थियो ।