
बिहीबारदेखि प्रदर्शनमा आई व्यापक चर्चा पाइरहेको चलचित्र ‘अञ्जिला’ को गीत ‘रात किन हुन्छ हजुर’ युट्युबमा सार्वजनिक गरिएको छ । पीडायुक्त शब्दहरू रहेको यस गीतले चलचित्रकी प्रमुख पात्र एन्जिला तुम्बापो सुब्बाको जीवन गाथाका केही अंशहरू बयान गरेको छ ।
यस गीतमा थानेश्वर गौतम र शान्तिश्री परियारको स्वर रहेको छ । थानेश्वरको सङ्गीत र प्रभा बर्तौलाको शब्द रचना रहेको छ । यस गीतको संक्षिप्त अंश चलचित्रमा समेत सुन्न सकिन्छ । चलचित्रका निर्देशक मिलन चाम्सले यस गीतलाई पूर्ण रूपमा सुन्न दर्शकबाट व्यापक माग आएपछि सार्वजनिक गरिएको बताए ।
फागु पूर्णिमाको अवसर पार्दै बिहीबार रिलिज ‘अञ्जिला’ ले दर्शकबाट व्यापक सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ । बिहीबार पहिलो शोदेखि नै दर्शकको उत्साहजनक उपस्थितिसहित प्रदर्शन भएको यो चलचित्र हेर्दा दर्शकहरू भाव विह्वल भएका छन् ।
‘अञ्जिला’ नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित छ, जसमा एन्जिला आफैँले प्रमुख भूमिकामा अभिनय गरेकी छन् । यसमा उनको बाल्यकालदेखि खेल जीवनसम्मको सङ्घर्ष र सफलताको भावुक कथा प्रस्तुत गरिएको छ ।
चलचित्रमा एन्जिलाको साथमा सुनील थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमिन गुरुङ, बुद्धि तामाङलगायत कलाकारको अभिनय छ । अहिले सोसल मिडियामा ‘अञ्जिला’ को प्रशंसा भएका र दर्शक रोइरहेका भिडियो क्लिप्सहरू भाइरल छन् ।