पाल्पा, चैत २ :

उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले पूर्व विशिष्टलाई सुविधा थप्ने सरकारको कुनै तयारी नभएको बताएका छन् ।

नेपाल पत्रकार महासंघले शनिबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले सरकारले पूर्व विशिष्टलाई सुविधा थप्ने कुनै तयारी नगरेको बताएका हुन् ।

यसअघिका सरकारले अगाडि बढाएको पूर्व विशिष्टको सुविधाको विषय सर्वोच्च अदालत पुगेपछि कानून बनाएर व्यवस्थित गर्ने गरि निर्देशनात्मक आदेश जारी भएको चर्चा गर्दै  उनले पूर्वविशिष्टलाई सुविधा थप्ने गरि सरकारले गृहकार्य अघि नबढाएको स्पष्ट पारे । 

उपप्रधानमन्त्री सिंहले वर्तमान सरकार आर्थिक समृद्धि र विकासमा केन्द्रीत रहेको र सोही अनुसार काम अघि बढाएको पनि बताए । राजनीतिक स्थिरता  नभई विकासको कामले गति लिन नसक्ने भएकाले  अहिले कांग्रेस , एमालेसिहतका दलहरू मिलेर सरकार बनेको भन्दै उनले जनताको जीवन र जिविका सहज बनाउनु नै सरकारको प्राथमिकता रहेको बताए । 

शुक्रबार पाल्पा कांग्रेसको कार्यक्रममा सहभागी भएका सिंह आज गुल्मी क्षेत्र नं १ को क्षेत्रीय सम्मेलनमा सहभागी हुने उनको सचिवालयले जनाएको छ ।