
समाजवादी मोर्चाले संघीयता र गणतन्त्रविरुद्धमा भइरहेको चलखेलको विरोधमा चैत १५ गते प्रदर्शन गर्ने भएको छ ।
मोर्चाले आज (शनिबार) काठमाडौंमा पत्रकार सम्मेलनमार्फत यसबारे जनाएको हो ।
‘देशको विषम् परिस्थितिमा समाजवादी मोर्चा, नेपालले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको निम्ति राष्ट्रिय स्वाधीनता र गणतन्त्रका पक्षधर संसद्भित्र र बाहिर भएका राजनीतिक पार्टी, नागरिक समाज, बुद्धिजीवीलगायत नेपाली समाजका सबै पक्षसँग छलफल र परामर्श गरी प्रतिगामी र पुन:उत्थानवादी षड्यन्त्रका विरुद्ध एकता, सहकार्य र संयुक्त विरोध आन्दोलनको नेतृत्व गर्नु अहिलेको वस्तुस्थितिको अहं जिम्मेवारी बन्न गएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यसका लागि २०८१ चैत १५ गते (शुक्रबार) का दिन काठमाडौंमा विशाल विरोध प्रदर्शनसहितको जनसभा आयोजना गरिएको छ । यस सभामा सहभागी भई समाजवादी मोर्चा, नेपालमा सम्बद्ध राजनीतिक पार्टीहरु, सम्पूर्ण देशभक्त तथा गणतन्त्रवादी शक्तिहरु एकजुट भई प्रतिगमन र प्रतिक्रियावादीहरुको षड्यन्त्रलाई विफल पार्न सम्पूर्ण न्यायप्रेमी जनसमुदायलाई हार्दिक अपिल गर्दछौं ।’
मोर्चाले सरकारको गतिहीनताका कारण संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षामा चुनौती देखिएको पनि जनाएको छ । सरकारको कुशासन र अस्तव्यस्तताका कारण नेपाली जनतामा एकपछि अर्को असन्तुष्टि र आक्रोश बढ्दै गएको र यसले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रको स्वाधीनता र नेपाली जनताको समाजवादको यात्रामा चुनौती देखापरेको मोर्चाले जनाएको हो ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द र नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवद्वारा जारी संयुक्त वक्तव्यमा सरकार बिचौलिया दलालहरूको स्वार्थसिद्धिमा केन्द्रित रहेको आरोप लगाइएको छ ।
हेर्नुहोस् मोर्चाद्वारा जारी वक्तव्य :
देशमा विकसित नयाँ परिस्थिति र प्रतिगामी तत्वहरुको क्रियाकलापबारे समाजवादी मोर्चा, नेपालको दृष्टिकोण अगाडि सार्न र आगामी कार्यक्रमको घोषणा गर्न यो पत्रकार सम्मेलनको आयोजना गरिएको छ ।
१) नेपालमा युगीन परिवर्तन र त्यसको गुणात्मक निरन्तरताका निम्ति नेपाली श्रमजिवी जनताले जनआन्दोलन, महान जनयुद्ध, १९ दिने ऐतिहासिक जन आन्दोलन, मधेश आन्दोलन, महिला, दलित (श्रमिक समुदाय), आदिवासी, जनजाति आन्दोलन, उत्पीडित क्षेत्रका जनताको आन्दोलन, थरुहट आन्दोलन र एकीकृत जनक्रान्ति लगायतका संघर्षमा आफ्नो अमूल्य जीवनको उत्सर्ग गर्नुहुने महान शहिदहरुप्रति स-सम्मान भावपूर्ण श्रद्धाञ्जली अपर्ण गर्दछौ । वेपत्ता योद्धाहरुको स्मरण र घाईते योद्धाहरुप्रति उच्च सम्मान व्यक्त गर्दछौ । गणतान्त्रिक र क्रान्तिकारी इतिहास रचनामा ऐतिहासिक योगदान गर्ने महान् नेपाली जनतामा उच्च सम्मान सहित क्रान्तिकारी अभिवादन व्यक्त गर्दछौ ।
२) नेपाली जनताको जीवन मरणको अनवरत संघर्षको बलमा २ सय ३८ वर्षे सामन्ती शासनको अन्त्य भएको हो । १ सय ४ बर्षे राणा शाशन विरुद्धको संघर्ष, ३० वर्षे पञ्चायती निरङ्कुश व्यवस्थाका बिरुद्ध संघर्ष, ०४६ साल पछिको सामन्तवाद र पूजीवादी प्रतिक्रियावाद विरुद्धको संघर्षमा ०७ सालको आन्दोलन, ०४६ सालको जनआन्दोलन, १० वर्षको जनयुद्ध र ०६२/६३ को ऐतिहासिक जनआन्दोलनको विशेष र निर्णायक भूमिका छ । आन्दोलन र जनयुद्धको बलमा स्थापीत भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्र युगान्तकारी परिवर्तनको प्रतिनीधी थियो । यसले राष्ट्रको स्थाधीनता, नेपाली जनताको मुक्ति र देशको सम्वृद्धिका लागि नेपाली जनतालाई अभुतपूर्व रूपमा आशावादी बनाएको थियो ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको विकाशमा देखिएको ठहराव र राज्यसत्ताको बागडोर सम्हालेकाहरुको अलोकतान्त्रिक रबैया र गतिविधीका कारण नेपाली जनताका अधिकारहरु एकपछि अर्को कुण्ठित हुँदै गइरहेका छन् । राज्य संचालकको स्वेच्छाचारिताका कारण देशले अप्ठ्यारो र सङ्कटपूर्ण अवस्थाको सामना गरिरहेको छ । भ्रष्टाचार, कमिशन र कालोबजारीले अर्थतन्त्र सङ्कटग्रस्त छ । नेपाली जनताको जनजीविका कहाली लाग्दो अवस्थामा छ । सरकार विचौलिया दलालहरुको स्वार्थसिद्धिमा केन्द्रीत छ । लोकतान्त्रिक मूल्य मान्यताको उपहास गर्दैछ । अध्यादेश मार्फत सरकार चलाउने, सदनलाई छल्ने, र संसदमा दर्ता भएका महत्पूर्ण विद्येयकहरु नियन्त्रण गरी राख्नेमा उद्धत छ । सरकारको कुशासन र अस्तव्यस्तताका कारण नेपाली जनतामा एकपछि अर्को असन्तुष्टी र आक्रोश तीब्ररुपमा बढ्दै गएको छ । यसले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रको स्वाधीनता र नेपाली जनताको समाजवादको यात्रामा चुनौती देखा परेको छ ।
३) सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विकासमा गतिहिनता, सरकारको मानोमानी, देश एवम् जनताको हित विपरितका गलत क्रियाकलापका कारण जनतामा पैदा भएको असन्तुष्टिलाई धमिलो पानी बनाई गणतन्त्रका विरुद्ध राजतन्त्र पुर्नस्थापनाको षड्यन्त्रमा प्रतिगामी र पुर्नउत्थानवादी तत्वहरु लागिपरेका छन् । यसको सशक्त प्रतिवाद गर्नु, गणतन्त्रको रक्षा गर्नु र नेपाली विशेषताको समाजवादको दिशामा अगाडि बढ्नु बर्तमान राष्ट्रिय राजनीतिको मुख्य कार्यभार बन्न गएको छ ।
४) देशको विषम् परिस्थितिमा समाजवादी मोर्चा, नेपालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको निम्ति राष्ट्रिय स्वाधीनता र गणतन्त्रका पक्षधर संसद भित्र र बाहिर भएका राजनैतिक पार्टी, नागरिक समाज, वुद्धिजिवी लगायत नेपाली समाजका सवै पक्षसँग छलफल र परामर्श गरी प्रतिगामी र पुर्नउत्थानवादी षड्यन्त्रका विरुद्ध एकता, सहकार्य र संयुक्त विरोध आन्दोलनको नेतृत्व गर्नु अहिलेको वस्तुस्थितिको अहम् जिम्मेवारी बन्न गएको छ । यसका लागि २०८१ चैत १५ गते (शुक्रवार) का दिन काठमाण्डौमा विशाल विरोध प्रर्दशन सहितको जनसभा आयोजना गरिएको छ । यस सभामा सहभागी भै समाजवादी मोर्चा, नेपालमा सम्वद्ध राजनीतिक पार्टीहरु, सम्पूर्ण देशभक्त तथा गणतन्त्रवादी शक्तिहरु एकजुट भै प्रतिगमन र प्रतिक्रियावादीहरुको षडयन्त्रलाई विफल पार्न सम्पूर्ण न्यायप्रेमी जनसमुदायलाई हार्दिक अपिल गर्दछौ ।